arrow

ढोकैमा पुगेर छिनियो उपाधि

नेपाल चार देशीय टी–२० को उपविजेता, कुवेतसँग तीन रनले पराजित

बसिर र नन्दनले नवौँ विकेटका लागि गरे ७२ रनको साझेदारी, बसिर ४३ बलमा ८० तथा नन्दन १४ बलमा ३७ रन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
cricket-nep-kuw-2025.jpg

काठमाडौँ । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि कुवेतले जितेको छ । जित नजिक पुगेको नेपाल अन्तिम ओभरमा सम्हालिन नसकेसँगै तीन रनले पराजित भएको हो । अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल जित नजिक पुगेर पनि हारको सामना गर्नुपरेको हो । 

असम्भव जस्तै मानिएको खेलमा बसिर अहमद र नन्दन यादवबीच नवौँ विकेटका लागि ७२ रनको साझेदारी भएसँगै नेपालले अप्रत्याशित परिणाम निकाल्ने अपेक्षा गरिएको थियो ।  

१७५ रनको चुनौती पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १७१ रनमा समेटियो । 

९२ रन जोड्दा ८ विकेट गुमाइसकेको नेपालका लागि बसिर र अन्दनले कमालको साझेदारी टिमलाई उपाधि नजिक पुर्याएका थिए । 

तर अन्तिममा बसिर ४३ बलमा ८० रन बनाएर आउट भए । नन्दनले १४ बलमा ३७ रन बनाए ।

यसअघि खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै ब्याटिङ गरेको कुवेतले ७ विकेटको क्षतिमा १७४ रन बनायो । 

ओपनर खेलाडी रविजा सान्दरुवानले ३६ बलमा ६३ तथा उस्मान पटेलले १५ बलमा २३ रन जोडे । 

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । 

लिग चरणमा भने नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका टिमले उपाधिका लागि फाइनल खेलेका थिए । नेपालले ५ तथा कुवेतले ४ अंक ल्याउँदै फाइनल खलेका हुन् । 

हङकङ तेस्रो 
आयोजक हङकङ तेसो भएको छ । बिहान तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो । 

खेलमा पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १८८ रन बनायो । आंशि राथले ६० बलमा ९७ रन बनाए । 

जवाफमा कतारले कप्तान इक्रामुल्लाह खानको ३५ बलमा ५५, शाहजैब जमिलको २० बलमा ४४ तथा जसिम खानको ७ बलमा अविजित २० रनको मद्धतले ५ विकेटको क्षतिमा १८७ रन बनायो । 

लिगमा ३ अंकसहित तेस्रो भएको हङकङ र अंकविहीन कतारले तेस्रो स्थानका लागि खेलेका थिए । 

नेपालका यसअघिका खेल
नेपाल र हङकङ

लिग चरणको अन्तिम नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले रद्द भयो । हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको हङकङले वर्षाले खेल रोकिनुपूर्व ९ ओभर खेल्दा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो । 

नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिएका थिए । त्यसपछि वर्षाले पुनः खेल हुन नसकेसँगै रद्द भएको थियो ।

रद्द हुँदा नेपाल दुई जित र एक बराबरीसँगै ५ अंकसहित शीर्ष स्थानमा रहन पुग्यो भने ४ अंकसहित कुवेत दोस्रो भयो । 

३ अंकसहित हङकङ तेस्रो भयो । अंकविहीन कतार चौथो भयो । 

नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । 

नेपाल र कुवेतको खेल
नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे । 

त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए । 

त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो । 

कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

नेपाल र कतारको खेल
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो । 

आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । 

पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए । 

त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए । 

दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ