सात दिनभित्र दर्ता नभए फेसबुक नेपालमा प्रतिबन्धित हुने सरकारको चेतावनी [भिडियो]
मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
742
Shares
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए फेसबुक सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए ।
उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए । उनले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमन्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।
उनले भने, “मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । यत्रो धेरै चलिरहेका छन् । हरेक घण्टामा यहीँ समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा । नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन ? पर्छ नि । तीन पटक भयो । म आउने बित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे । तेस्रो पटक फेरि सूचना जारी गरे, अस्ति भर्खर म्याद सकियो । अब ७ दिनभन्दा बढी दिन्न मैले । यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमन्ड के रैछ भने नेपालको जिडिपी कति हुन्छ र ? इति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।”