वीर अस्पतालकी नर्सिङ प्रमुख श्रेष्ठलाई कारबाही गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
532
Shares
काठमाडौँ । वीर अस्पतालकी नर्सिङ प्रमुख संगीता श्रेष्ठलाई कारबाही गर्नका लागि उनी मातहत कार्यरत पीडित कर्मचारीहरुले माग गरेका छन् ।
उनले आफूहरुलाई दुःख दिने गरेको भन्दै कारबाही गरी सरुवा गर्न पनि माग गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर पीडितहरुले नर्सिङ प्रमुख श्रेष्ठलाई कारबाही गर्न माग गरेका हुन् ।
उनीहरुले श्रेष्ठले विभिन्न आर्थिक, प्रशासनिक अनियमितता र ज्यादती तथा विभेदविरुद्ध आवश्यक छानबिन गरी हदैसम्म कारबाही गर्न माग गरेका छन् । साथै उनलाई तत्कालै वीर अस्पतालबाट सरुवा गर्न पनि अनुरोध गरेका छन् ।
सम्बन्धित निकायहरुमा लेखिएको पत्रमा अस्पतालमा विभिन्न आर्थिक, प्रशासनिक अनियमितता गरेको, कर्मचारी भर्नामा अनियमितता गरेको, जातीयता आधारमा विभेद गरेको, सरसफाइ सम्बन्धी सामान आयातमा मिलेमतोमा अनियमितता गरेको लगायतका भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
त्यस्तै कर्मचारी छनोट गर्दा भ्रष्टाचार गरेकोसमेत आरोप छ । पीडित कर्मचारी समूहले प्रमख श्रेष्ठ कार्यालय समयमै विभिन्न कलेजमा पढाउन जाने गरेको आरोपसमेत लगाएका छन् ।