काठमाडौँ । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नौबिसे-नागढुङ्गा खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
मुग्लिङ-नागढुङ्गा सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
मुग्लिङ-नागढुङ्गा सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे ।
काठमाडौँबाट आउने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।
आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।
सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ, साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ ।”