काठमाडौँ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा जारी तनाव र द्वन्द्वको त्रासका कारण त्यहाँ बसोबास गर्ने नागरिकहरू विस्थापित भएका छन्। प्रतिद्वन्द्वी सेनाहरूबीचको संभावित भिडन्तको डरले सीमावर्ती गाउँका बासिन्दाहरूले आफ्ना परिवारलाई सुरक्षित स्थानमा सारेका हुन्।
चेनाब नदीको किनारमा रहेको सेन्थको कृषि बस्तीका करिब १५ सय बासिन्दा द्वन्द्वको डरले अन्यत्र सरेको बताइएको छ। गाउँका मुखिया सुखदेव कुमारले भने, “हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ।” अस्थिर परिस्थितिका कारण यहाँका अधिकांश गाउँलेले सामान्य घर बनाउनुभन्दा बढी लगानी नगर्ने उनको भनाइ छ।
भारतले पाकिस्तानलाई कश्मीरमा सर्वसाधारणमाथि हुने आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध थप बिग्रिएको छ। अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा संलग्न भएको आरोपमा भारतीय प्रहरीले तीन जनाको खोजी गरिरहेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरूलाई आतङ्कवादी घोषणा गरेको छ। तर पाकिस्तानले भने २६ जनाको हत्यामा सहयोग गरेको आरोप अस्वीकार गरेको छ।
भारतीय सेनाले शनिबार कश्मीर सीमामा पाकिस्तानी सैनिकहरूसँग गोली हानाहान भएको पुष्टि गरेको छ। सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानबीच विवादित क्षेत्र रहँदै आएको छ।
गाउँ प्रमुख कुमारका अनुसार अधिकांश परिवार सुरक्षित आवासको खोजीमा अन्यत्र घर बनाएर सरेका छन् भने शिविरहरूमा करिब एक तिहाइ मानिस मात्र बाँकी छन्। सन् १९९९ मा दुवै देशबीचको द्वन्द्वले यो क्षेत्र नराम्ररी प्रभावित भएको थियो।
पहलगाम आक्रमणपछि बालबालिकाहरू त्रसित अवस्थामा बाँचिरहेका छन् भने नयाँ दिल्ली र इस्लामाबादलाई वार्ताको माध्यमबाट मतभेद समाधान गर्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ। संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ भने छिमेकी चीनले ‘संयम’ अपनाउन भनेको छ। युरोपेली सङ्घले शुक्रबार स्थितिलाई ‘चिन्ताजनक’ भनेको छ।