राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउँछ - राष्ट्रपति पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
583
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए मुलुकमा कुशासन मौलाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राज्यको लगानीमा जनताको निगरानी नभए विधिको शासन अवरुद्ध हुने र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्ने जिकिर गरे ।
उनले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको उल्लेख गरे । उनले सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एसियाकै पहिलो देश नेपाल भएको बताए । उनले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागरिकप्रति जबाफदेही हुनैपर्ने बताए ।
लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक रहेको भन्दै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित नभएसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको बताए । पारदर्शिता र जबाफदेहिता, सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता भएको उल्लेख गरे ।
उनले भने, ‘राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ । विधिको शासन अवरुद्ध हुन्छ । सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ । लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रूपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको छ । यही सन्दर्भमा हाम्रो संविधानको धारा २७ ले सूचनाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको हो । सूचनाको हकलाई संविधानमा नै मौलिक हकको रूपमा व्यवस्था गर्ने दक्षिण एसियाकै पहिलो देश हो नेपाल । नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको काम कारबाही नागरिकप्रति जबाफदेही हुनैपर्छ । लोकतन्त्रको लाभ नागरिकसम्म पुर्याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ । जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुँदैन । पारदर्शिता र जबाफदेहिता, सहभागितामूलक लोकतन्त्रको आधारभूत आवश्यकता हुन् ।’