पूर्व सचिव रेग्मीले सामाजिक कामका लागि गरे ४० लाखको अक्षयकोष स्थापना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
985
Shares
पोखरा । सरकारका पूर्व सचिव कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । भीरकोट पोखरा सामीप्य सदनमार्फत् सञ्चालन हुने गरी उनले ‘मुनाकृष्ण अक्षयकोष’ स्थापना गरेका हुन् । दिंवगत पत्नी मुना रेग्मीको स्मृतिमा आफ्नो नाम समेत रहने गरी उनले उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
स्याङ्जा जिल्लामा जन्मेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई वार्षिक रुपमा सम्मान र पुरस्कृत गर्नका लागि अक्षयकोषको ब्याज रकम खर्च हुनेछ ।
साहित्य, कला, संस्कृति, समाजसेवा, शिक्षा, स्वास्थ्य खेलकुद, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा रहेर उत्कृष्ट योगदान गर्नेहरुलाई सम्मान गरिने सामीप्य सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीले बताए ।
स्याङ्जाको लुब्दीखोलाका कृष्णप्रसाद नेपाल सरकारको अवकाशप्राप्त सचिव हुन् । उनका छोरा मधु रेग्मी शिक्षा सेवा आयोग अध्यक्ष छन् ।
पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले जागिरे जीवनमा धेरै जिल्लामा सेवा गरेको स्मरण गर्दै अहिले पनि ती जिल्लाका मानिसहरुले भेट्दा प्रकट गर्ने सद्भाव नै आफ्नो जीवनको ठूलो उपलब्धि रहेको बताए ।
उनले भने, ‘छोराछोरी पढाएर, परिवारको गर्जो टारेर बचेको र सञ्चयकोष समेतको रकमबाट अक्षय कोष स्थापना गरिएको हो ।’ जीवनमा ठूलो केही गर्न नसकेपछि समाजसेवाका क्षेत्रमा केही योगदान गर्नका लागि परिवारसमेतको साथमा यो काम भएको उनले सुनाए ।
शुरुमा आफूले २५ लाख रुपैयाँबाट अक्षयकोष खडा गर्ने कुरा परिवारमा सुनाएको र छोरी र छोरासमेतले रकम थपेर ४० लाख पुर्याइएको अक्षयकोषदाता रेग्मीले बताए ।
समाजसेवाको क्षेत्रमा आफूलाई केही काम गर्न मन लागेपछि छोरा मधु रेग्मीलाई सोध्दा निकै सकारात्मक प्रतिक्रिया पाएको सुनाउँदै उनले छोराकै सल्लाहमा कोषको नामकरण गरिएको जानकारी उनले गराए । रेग्मी हाल पोखराकै बिरौटमा बस्दै आएका छन् ।
सामीप्य सदनका अध्यक्ष श्यामप्रसादले पुरस्कार वितरणका लागि जानकारहरुको सहयोग लिएर कार्यविधि बनाउने र सकेसम्म सबै क्षेत्रलाई समेट्ने गरी प्रदान प्रतिबद्धता जनाए ।
उनले भने, ‘कोष के कसरी सञ्चालन गर्ने, कार्यविधि कस्तो बनाउने भन्ने बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग पनि सल्लाह गरेर हामी अगाडि बढ्ने छौँ ।’
अक्षयकोषदाता रेग्मीलाई सामीप्य सदनले हालै पोखरामा वृहत कार्यक्रमकाबीच सम्मान गरेको छ । प्रदेश लोक सेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले रेग्मीसहित कान्छी पत्नी सीता र छोरी दुर्गा आचार्यलाई सम्मान गरे ।
कार्यक्रममा अध्यक्ष नेपालले उपभोक्तावादी, कमाउने र देखाउने होडबाजी चलिरहेका बेलामा समाजसेवाका लागि यति ठूलो रकम प्रदान गरेकामा पूर्व प्रशासक रेग्मीप्रति आभार व्यक्त गरे ।
उनले यति सम्मानका साथ स्थापना गरेको अक्षयकोषको समुचित ढंगबाट सदुपयोग हुने अपेक्षा व्यक्त गरे ।
उक्त अवसरमा अक्षयकोष दाता रेग्मीले स्याङ्जाली सम्पर्क सदनलाई १ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । सदनका अध्यक्ष शिव थापा र संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठलाई उनले रकम हस्तान्तरण गरे ।
कार्यक्रममा अक्षयकोष सञ्चालक एवं स्याङ्जाली सम्पर्क सदनका संस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष लीला पंगेनी, वर्तमान अध्यक्ष शिव थापा, यामबहादुर खत्री, सामाजिक अभियान्ता सावित्री शर्मा, लेखनाथ तिवारी लगायतले शुभकामना व्यक्त गरे ।
सदनका अध्यक्ष श्यामप्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन भीरकोट पोखरा बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष टोलप्रसाद अर्यालले गरेका थिए ।
सदनका उपाध्यक्ष विष्णुप्रसाद खनालले स्वागत गरेको कार्यक्रममा अर्का उपाध्यक्ष लक्ष्मी केसी अधिकारीले गरेका थिए ।