गुडिरहेको बसमा भीषण आगलागी, पाँच यात्रुको जलेर मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
1.9k
Shares
काठमाडौँ । भारतको लखनऊमा गुडिरहेको एक बसमा भएको भीषण आगलागीमा परी पाँच यात्रुको दुखद मृत्यु भएको छ। मृतकहरूमा दुई बालबालिका, दुई महिला र एक पुरुष रहेका छन्। बिहारबाट दिल्लीतर्फ गइरहेको उक्त बसमा करिब ८० जना यात्रु सवार थिए।
यो घटना बिहीबार बिहान करिब ५ बजे आउटर रिङ रोड (किसान पथ) को मोहनलालगञ्ज नजिक भएको थियो। दुर्घटनाको समयमा अधिकांश यात्रु निदाइरहेका थिए। बाँचेका यात्रुहरूको भनाइ अनुसार बसमा अचानक धुवाँ भरिन थालेपछि भागाभाग भएको थियो। केही क्षणमै आगोको ठूलो लप्काले बसलाई घेरेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बसको आपत्कालीन ढोका नखुलेको देखिएको छ। यस कारणले बसको पछाडिको भागमा बसेका यात्रुहरू फसेको अनुमान गरिएको छ। बसमा पाँच-पाँच किलोका सात वटा ग्यास सिलिन्डर भए पनि ती विस्फोट भने भएका थिएनन्। अधिकारीहरूले आगलागीको वास्तविक कारण, आपत्कालीन ढोका नखुल्नुको कारण र बस चालक दलको भूमिकाबारे थप अनुसन्धान गरिरहेका छन्।