इजरायलद्वारा आतङ्कवाद पीडित नेपाली परिवारलाई निरन्तर सहयोगको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
533
Shares
काठमाडौं। नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई इजरायलले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इजरायलको ७७ औँ स्वतन्त्रता दिवस र नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ काठमाडौंमा आयोजित स्वागत समारोहमा राजदूत बासले उक्त प्रतिबद्धता जनाएका हुन्।
गत वर्ष अक्टोबर ७ मा आतङ्कवादी समूह हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययनरत १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। ती विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरूका परिवारलाई आर्थिक र नैतिक सहयोग निरन्तर रहने बताए।
राजदूत बासले भने, “इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ र यो सहयोग जारी रहनेछ। हमासको आक्रमणबाट पीडित भएका नेपालीसहित सबै व्यक्तिहरूप्रति इजरायलले ऐक्यबद्धता प्रकट गरेको छ।”
नेपाल र इजरायलबीचको बहुआयामिक सम्बन्धबारे चर्चा गर्दै राजदूत बासले नेपालको शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षा क्षेत्रमा दुई देशबीच आपसी सहयोग जारी रहेको बताए।
उनले चार हजारभन्दा बढी नेपालीले इजरायलका कृषि तथा शैक्षिक केन्द्रबाट तालिम लिएको, नेपालको कृषि आधुनिकीकरण र आर्थिक विकासमा इजरायल सरकारले विशेष सहयोग गरिरहेको जानकारी दिए। आगामी दिनमा सूचना तथा सञ्चार र साइबर प्रविधिका क्षेत्रमा पनि द्विपक्षीय सहयोग विस्तार गर्न इजरायल सरकार तयार रहेको उनले बताए।
इजरायल सधैँ शान्ति, विकास र मित्रताको पक्षमा रहेको दोहोर्याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो देशको एकमात्र लक्ष्य रहेको बताए।