एकताका लागि कम्युनिष्टहरुलाई माधव नेपालको आह्वान [भिडियो]
विचार र दृष्टिकोण मिल्नेहरूसँग सहकार्य गर्न, मोर्चा बनाएर अघि बढ्न र सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३ शनिबार
512
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा आफूहरू लागिरहेको बताए। उनले आफ्नो अडान र विचारमा दृढ भएर अघि बढ्न आवश्यक रहेको बताए। विचार र दृष्टिकोण मिल्नेहरूसँग सहकार्य गर्न, मोर्चा बनाएर अघि बढ्न र सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा उनले जोड दिए।
अध्यक्ष नेपालले भने, ‘सकेसम्म हामीले चाहनुपर्छ, सिंगै आन्दोलनलाई एकताबद्ध बनाउन। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, त्यस काममा त हामी लगातार लागिरहेका छौं। ०३२ सालदेखि लाग्दै आयौं। धेरै समूहलाई, सानासाना टुक्रामा छरिएकालाई एकताबद्ध बनाउँदै पनि गयौं। कोही एकताबद्ध भए, कोही भएनन्। कोही एकताबद्ध भएर पनि बीचैमा छोडेर पनि गए। त्यस्तो भइरहन्छ। यसमा आत्तिने काम कहिल्यै पनि गर्न हुँदैन। आफ्नो अडान ठीक छ कि छैन, आफ्नो विचार ठीक छ कि छैन? त्यसमा सबैभन्दा पहिला आत्मविश्वास हुनुपर्छ। त्यसको आधारमा आफ्नो शक्तिलाई बलियो बनाउने काममा जुट्नुपर्छ। अनि विचार, दृष्टिकोण र घराना मिल्नेहरूसँग हातेमालो गर्नुपर्छ। मोर्चा पनि बनाउनुपर्छ। सहकार्य गर्नुपर्छ। सम्भव हुन्छ भने पार्टी एकता पनि गरेर जानुपर्छ।’
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभई सबै प्रकारका विकृति र विसंगतिसँग जुधेर इमान्दार कम्युनिष्टको रूपमा अघि बढ्न आवश्यक रहेको बताए।