काठमाडौं । जापान र संयुक्त राज्य अमेरिकाबीच जारी भन्सार सम्बन्धी छलफलमा जापानले टेस्ला कम्पनीका विद्युतीय सवारी साधन चार्ज गर्ने स्टेसनहरू निर्माणका लागि अनुदान दिन सक्ने सङ्केत गरेको छ।
जापानी समाचार संस्था टीबीएसका अनुसार अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले जापानको वर्तमान अनुदान नीतिप्रति असन्तुष्टि व्यक्त गर्दै टेस्लाको चार्जिङ नेटवर्कलाई पनि अनुदानमा समावेश गर्न आग्रह गरेका थिए।
हाल जापान सरकारले आफ्नै प्रविधि ‘चाडेमो’ प्रयोग गरी निर्माण गरिएका चार्जिङ स्टेसनहरूलाई मात्र आर्थिक सहयोग प्रदान गर्दै आएको छ। टेस्लाका सवारी साधनले विशेष एडाप्टरको प्रयोग गरी चाडेमो चार्जिङ स्टेसनमा चार्ज गर्न सक्ने भएता पनि चाडेमो प्रविधि भएका सवारी साधनले टेस्लाको चार्जिङ स्टेसन प्रयोग गर्न सक्दैनन्।
जापान र अमेरिका तेस्रो चरणको भन्सार वार्ताको तयारीमा छन्। जापानका प्रमुख वार्ताकार र्योसेई अकाजावा छिट्टै अमेरिका भ्रमण गर्ने तयारीमा रहेको बताइएको छ।