हामी पाकिस्तानको हरेक पाइलालाई उसको कार्यबाट मापन गर्नेछौँ : प्रधानमन्त्री मोदी
मोदीद्वारा अपरेसन सिन्दूरको सफलताको लागि सशस्त्र बलको प्रशंसा
एजेन्सी,
प्रकाशित २०८२ वैशाख २९ सोमबार
633
Shares
तस्बिर : फाइल
नयाँ दिल्ली। राष्ट्रका नाममा आफ्नो शक्तिशाली सम्बोधनमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सशस्त्र बल, गुप्तचर निकाय र वैज्ञानिकहरूलाई हार्दिक धन्यवाद तथा बधाई अर्पण गरे। अपरेसन सिन्दूरको क्रममा उनीहरूको अतुलनीय साहस र सटीकताको प्रशंसा समेत गरेका छन्।
प्रधानमन्त्रीले यो अपरेसनलाई भारतको शक्ति, धैर्य र न्यायप्रतिको अटल प्रतिबद्धताको प्रमाणको रूपमा वर्णन गरे।
राष्ट्रको सङ्कल्पलाई उजागर गर्दै मोदीले अप्रिल २२ मा पहलगाममा भएको क्रूर आतङ्कवादी हमलाको निन्दा गरे। जसमा निर्दोष नागरिकहरूलाई उनीहरूको परिवारको अगाडि उनीहरूको धर्मको आधारमा मारिएको थियो। यसलाई "आतङ्क र क्रूरताको कुरूप अनुहार" भनेर वर्णन गर्दै उनले भने कि यो घटनाले आफूलाई व्यक्तिगत रूपमा पीडा मात्र दिएको थिएन तर भारतको एकता तोड्ने स्पष्ट प्रयास पनि थियो। "यस आतङ्कवादी आक्रमणपछि, सम्पूर्ण देश - समुदाय र राजनीतिक धारबाट - कडा कारबाही गर्न एकजुट भयो," उनले भने।
भारतीय प्रधानमन्त्रीका अनुसार, अपरेसन सिन्दूर केवल सैन्य प्रतिक्रिया मात्र थिएन तर राष्ट्रिय भावना पनि थियो। लाखौँ मानिसहरूको सामूहिक आक्रोश र सङ्कल्पको प्रतिबिम्ब हो। ६ मे को रात र ७ मे को बिहानको बीचमा भारतीय सेनाले पाकिस्तानमा आतङ्कवादी लुक्ने ठाउँ र तालिम केन्द्रहरूमा सटीक हमला गर्यो। जसले आतङ्कवादी र उनीहरूका समर्थकहरूलाई चकित पार्यो।
यी आक्रमणहरूले १०० भन्दा बढी कुख्यात आतङ्ककारीहरूलाई मार्यो। जसमध्ये धेरै दशकौँदेखि पाकिस्तानमा खुला रूपमा सक्रिय थिए।
उनले भने, "बहावलपुर र मुरिदके जस्ता आतङ्कवादी केन्द्रहरू (जुन लामो समयदेखि विश्वव्यापी आतङ्कवादको प्रजनन स्थल मानिन्छन्) लाई ठूलो चोट लागेको थियो। तिनीहरूका नेताहरूले भारतबाट यस्तो साहसी प्रतिक्रियाको कल्पना कहिल्यै गरेका थिएनन्।" "भारतले हाम्रा दिदीबहिनी र छोरीहरूको सिन्दूरको अपवित्रताको जवाफ आतङ्कवादको जग ध्वस्त पारेर दिन्छ।"
प्रधानमन्त्रीले खुलासा गरे कि बदलामा पाकिस्तानले भारतीय नागरिक पूर्वाधार - विद्यालय, धार्मिक स्थल र सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्ने प्रयास गर्यो।
यद्यपि, उनले जोड दिए कि पाकिस्तानको ड्रोन र क्षेप्यास्त्र आक्रमणहरू भारतको बलियो रक्षा प्रणालीले मध्य हावामा निष्क्रिय पारेको थियो। उनले भने, "पाकिस्तानको सबैभन्दा प्रसिद्ध एयर बेसमा गम्भीर क्षति पुगेको छ र उनीहरूको सेना अचम्ममा परेको छ।" भारतको तीन दिनको प्रतिकारपछि, पाकिस्तानले मे १० मा भारतको सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) लाई सम्पर्क गर्यो र तनाव कम गर्ने र सैन्य तथा आतङ्कवादी गतिविधिहरू बन्द गर्ने वाचा गर्यो। भारतले पाकिस्तानको भविष्यको आचरणलाई नजिकबाट नियाल्दै थप कारबाही स्थगित गर्न सहमति जनायो।
मोदीले भने, "हामी पाकिस्तानको हरेक पाइलालाई उसको कार्यबाट मापन गर्नेछौँ।" प्रधानमन्त्री मोदीले आतङ्कवाद विरुद्धको भारतको लडाइँमा अपरेसन सिन्दूरले नयाँ मानक स्थापित गरेको घोषणा गरे। उनले भारतको आतङ्कवाद विरोधी अडानलाई निर्देशित गर्ने तीन आधारभूत सिद्धान्तहरू उल्लेख गरे:
दृढ र समानुपातिक प्रतिक्रिया: भारतीय भूमिमा हुने कुनै पनि आतङ्कवादी आक्रमणलाई दृढ र उपयुक्त प्रतिक्रिया दिइनेछ।
आणविक ब्ल्याकमेल सहन गरिने छैन: भारतले आणविक खतरालाई आतङ्कवादी गतिविधिको आवरणको रूपमा प्रयोग गर्न दिने छैन। राज्य र आतङ्कवादमा कुनै भिन्नता नदेख्ने: भारतले आतङ्कवादका राज्य प्रायोजकहरू र आतङ्कवादी मास्टरमाइन्डहरूलाई समान व्यवहार गर्छ।
राज्य-प्रायोजित आतङ्कवादको प्रमाण उद्धृत गर्दै मोदीले भने कि मारिएका आतङ्ककारी हरूको अन्त्येष्टिमा उच्च पदस्थ पाकिस्तानी सैन्य अधिकारीहरू देखिएका थिए। जसले इस्लामाबादको संलग्नतालाई उजागर गर्दछ। मोदीले सेना, नौसेना, वायुसेना र अर्धसैनिक एकाइहरू सहित भारतको रक्षा बलहरूको क्षमतामा ठूलो गर्व व्यक्त गरे। उनले अपरेसन सिन्दूरको समयमा भारतमा निर्मित रक्षा उपकरणहरूको सफलतालाई पनि जोड दिए र भने कि अपरेसनले आधुनिक युद्धमा भारतमा निर्मित हतियारहरूको प्रभावकारिता प्रमाणित गरेको छ।
उनले घोषणा गरे, "यस अपरेसनले २१ औँ शताब्दीमा युद्धलाई पुनः परिभाषित गरेको छ। हाम्रो शक्ति हाम्रो एकता हो र आतङ्कवादप्रति शून्य सहनशीलता नै विश्वव्यापी शान्ति सुनिश्चित गर्ने एक मात्र तरिका हो।"
प्रधानमन्त्री मोदीले पाकिस्तानलाई कडा चेतावनी दिँदै भने कि आतङ्कवादलाई निरन्तर संरक्षण दिँदा उसको पतन हुनेछ। उनले भने, "यदि पाकिस्तान शान्ति चाहन्छ भने, उसले आफ्नो आतङ्कवादी पूर्वाधार ध्वस्त पार्नुपर्नेछ। अरू कुनै उपाय छैन।" उनले भारतको विश्वव्यापी अडान दोहोर्याए - पाकिस्तानसँगको कुनै पनि वार्ता आतङ्कवाद र पाकिस्तान-कब्जा गरिएको कश्मीर (पीओके) मा मात्र केन्द्रित हुनेछ।
उनले स्पष्ट रूपमा भने, "आतङ्कवाद र वार्ता सँगै चल्न सक्दैनन्। आतङ्कवाद र व्यापार सँगै चल्न सक्दैनन्। पानी र रगत सँगै बग्न सक्दैनन्।"
बुद्ध पूर्णिमाको अवसरमा आफ्नो सम्बोधनको अन्त्य गर्दै प्रधानमन्त्री मोदीले भगवान् बुद्धका शिक्षाहरू उद्धृत गर्दै साँचो शान्ति शक्तिमा निहित रहेको कुरामा जोड दिए। "भारतलाई विकसित राष्ट्र - विकसित भारत - बन्नको लागि यसका नागरिकहरूले शान्तिमा बस्नै पर्छ। र शान्ति कायम राख्न, आवश्यक पर्दा बल प्रयोग गर्नुपर्छ।"
उनले भारतीय सशस्त्र बल र प्रत्येक भारतीयको अदम्य भावनालाई सलाम गरे र एकता, सुरक्षा र सार्वभौमिकताप्रति राष्ट्रको प्रतिबद्धतालाई पुनः पुष्टि गरे। उनले दृढ राष्ट्रको सामूहिक गौरव, 'भारत माता की जय' दोहोर्याउँदै जोडदार रूपमा आफ्नो भनाइ समाप्त गरे!