arrow

तस्करी सेटिङ

विमानस्थल अध्यागमनका प्रमुख भट्टराई पक्राउ

मंगलबार गृह मन्त्रालयमा तानिए, बुधबार नियन्त्रणमा परे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
tirtharaj-bhattarai-ciaa-ar.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तथा तत्कालीन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ । 

एक दिन अगाडि मात्रै गृह मन्त्रालयमा तानिएका भट्टराईलाई सोधपुछका लागि अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो । 

अध्यागमनका कर्मचारी र मानव तस्करी गर्ने समूहको सेटिङमा भिजिट भिसाका नाममा तस्करी हुने गरेको सुराकीपछि उनीमाथि अख्तियारले अनुसन्धान थालेको हो ।

उनलाई अख्तियारले नियन्त्रणमा लिई टंगालस्थित अख्तियारको मुख्यालयमा लगेको छ । 

अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेको थियो । उनीमाथि मानव तस्करीको उजुरी परेसँगै उनलाई अख्तियारले पक्राउ गरेको हो ।

उनीमाथि दैनिक चार सय जना सम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति हजारौँ रुपैयाँसम्म असुली गरेको उजुरी परेको थियो । 

लामो समयदेखि यो तस्करीको र्याकेट चलेको भए पनि कसैले पक्राउ भने गरेको थिएन । 

भिजिट भिसामा खाडी मुलुक र युरोप जाने व्यक्तिहरूसँग रकम उठाएर ५० प्रतिशत कार्यालय प्रमुखले लगी अन्यत्रसमेत बाँड्ने गरेकोमा भट्टराई अध्यागमन कार्यालयको प्रमुख बनेर गएपछि ६० प्रतिशत रकम लैजाने गरेको भन्दै कर्मचारी वृत्तमा विरोधको स्वर सुनिन थालेको थियो। 

यिनै मध्येका केहीले प्रमाणसहित अख्तियारमा भट्टराईलगायत केही कर्मचारीविरुद्ध उजुरी गरेका थिए । गृहमन्त्री रमेश लेखककै रोजाइमा परेर भट्टराई अध्यागमनको कार्यालय  प्रमुख बनेर पुगेका थिए । 

अख्तियारमा परेको उजुरीमा घुसको रकम गृहमन्त्री लेखक, गृहमन्त्रीका सचिवालयका कर्मचारीहरू, गृह सचिव र हालका मुख्यसचिवसम्म पुग्ने गरेको विवरण रहेको अख्तियार स्रोतले जनाएको छ ।

यूएई लगायतका खाडी देशमा जान अनुमति दिने प्रयोजनका लागि ४० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म लिने गरिएको थियो । युरोप जानेसँग प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म घुस लिइन्थ्यो। 

व्यक्तिगत श्रम स्वीकृति लिई रोमानिया लगायतका देशहरूमा जाने कामदारबाट प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म  उठाउने गरिएको थियो । 

युरोपमा कामका लागि जान म्यानपावर कम्पनीबाट नै सबै काम हुने भए पनि नेपाल सरकारले अनुमति नदिएको कारण उनीहरू सबै व्यक्तिगत श्रम स्वीकृति बनाएर ती देशहरूमा उड्ने गरेका थिए ।  

यसरी व्यक्तिगत श्रम स्वीकृति बनाएर जाने यात्रुसँग अध्यागमनले विभिन्न निकायका व्यक्तिहरूसँगको सेटिङमा संस्थागत असुली धन्दाबाट दैनिक करोडौँ रुपैयाँ घुसबापत उठ्ने गरेको उजुरीमा रहेको स्रोतले जनाएको छ ।

अख्तियारमा प्रमाणसहितको उजुरी परेको जानकारी पाए लगत्तै गृहमन्त्री रमेश लेखकले सहसचिव भट्टराई र ७ जना सुब्बालाई मन्त्रालयमा काज सरुवा गरेका थिए । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा जम्मा १२९ जना अधिकृतको दरबन्दी रहेको भए पनि त्यो भन्दा धेरै बढी अधिकृतहरू कार्यरत रहेको पाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ