दुर्गममा सेनाले हेलिप्याड बनाइ स्थानीय तहलाई गर्यो हस्तान्तरण
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८२ जेठ १० शनिबार
1.1k
Shares
मुगु । नेपाली सेनाले मुगु जिल्लाको दुर्गम तथा विकट पालिकामा हेलिप्याड बनाएर पालिकालाई हस्तान्तरण गरेको छ । जिल्लास्थित मुगम कार्मारोङ्ग गाउँपालिकाको केन्द्र पुलुमा हेलिप्याड बनाइ मुगुम कार्मारोङ्ग गाउपालिकालाइ हस्तान्तरण गरिएको हो ।
शुक्रबार उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामालाइ नेपाली सेनादारा निर्मित हेलिप्याड हस्तान्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले नेपाली सेनाको प्रशंसा गरे । उनले भने, ‘मुगुमका जनताले विभिन्न विपतमा उद्धार तथा राहत समय मै पाएका थिएनन् भने सुत्केरी आमा र बिरामी जनताले समय मै उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको थियो । पैसा भएर पनि समयमै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनु परेको थियो । अब पालिकामै मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला जनताले हेलिकप्टरको सेवा लिने छन् भने राज्यले दिने सेवा सुविधा जनताले समय मै पाउनेछन् ।’
नेपाली सेना नेपाली जनताको भएकोले नेपाली जनता विपतमा पर्दा दुर्गमता, विकटता महसुस गर्न नपाइ राज्य छ भन्ने जनताले देख्न,भोग्न सकोस् भनेर विकट तथा दुर्गम क्षेत्रमा हेलिप्याड बनाइ स्थानीय सरकारलाई हस्तान्तरण गर्दै आएको हेलिप्याड निर्माणले विपत उद्धार,जटिल प्रसुती आमाको उद्धार तथा प्रकोपहरुमा उद्धार तथा राहत उपलब्धतामा सरोकार निकाय तथा तिनै तहका सरकारहरुलाइ सहज हुने पृतनापति अनुपजङ्ग थापाले बताए ।
मुगु जिल्लाको मुगुम कार्मारोङ्गका २ दर्जन बढी पाटनहरुमा बहुमूल्य बुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका गरेर हजारौँ मानिस यार्सा टिप्न यहाँ पुग्ने गर्दछन् ।
उच्च हिमाली भूभाग, मौसममा फेरबदल आइरहने, अक्सिजनको कमी,अत्यधिक चिसोका कारण बर्सेनि थुप्रै यार्सा संकलकहरु बिरामी हुने र समय मै उपचार नपाउँदा मृत्युको मुखमा पुग्ने भएकाले हेलिप्याड निर्माणले पाटनहरुमा बिरामी हुनेहरुको समयमै उद्धार भएर उपचार सेवा पाउने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए ।
हेलिप्याड निर्माणका लागि लागत अनुमान बजेट १६ लाख ४७ हजार ६३० रुपैयाँ ६० पैसा भए पनि निर्माण कम्पनी नवीन निर्माण सेवाले ८ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माण जिम्मा लिइ २०८२ साल असार १ गते भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटु राराले हेलिप्याड निर्माण जिम्मेवार युनिट रहेर नवीन निर्माण सेवाले २०८१ साल माघ २५ गते निर्माण शुरु गरी २०८२ जेठ २ गते हेलिप्याड निर्माण सम्पन्न गरेपछि शुक्रबार नेपाली सेनाले उक्त हेलिप्याड पालिकालाई हस्तान्तरण गरेको छ ।