arrow

पाँचदिने जापान भ्रमण सकेर फर्किइन् परराष्ट्रमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
arju-12-08.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले हालै सम्पन्न पाँचदिने जापान भ्रमणलाई उपलब्धिमूलक बताएकी छन्। 

जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएको र नेपाल-जापान सहयोग तथा विभिन्न परियोजनाबारे कुराकानी भएको जानकारी दिइन्।

मन्त्री डा. राणाले नेपाल र जापानबीचको सम्बन्धका विविध विषयका साथै नेपालमा जापानको सहयोग र परियोजनाबारे कुराकानी भएको बताइन्। उनले टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेको र त्यस क्रममा अन्य देशहरूले ज्येष्ठ नागरिकका सम्बन्धमा अपनाएका नीति, अवस्था तथा व्यवस्थाबारे जान्ने अवसर पाएको पनि उल्लेख गरिन्।

जेठ ८ गते टोकियोमा जापानका विदेशमन्त्री इवाया ताकेसीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। त्यसैगरी, जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता भएको थियो। उक्त भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिकलगायतका विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले पुर्‍याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाबारे कुराकानी गरिन्।

यसअघि जापानका उपविदेशमन्त्री इकुइना अकिकोसँग पनि शिष्टाचार भेटवार्ता भएको थियो। गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री डा. राणाले धन्यवाद ज्ञापन गरेकी थिइन्।

गत सोमबार जापान प्रस्थान गरेकी मन्त्री डा. राणालाई गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहितका अधिकारीहरूले स्वागत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ