arrow

इमान, निष्ठा र क्षमताले न्यायपालिका कहिल्यै बदनाम हुँदैन- प्रधानन्यायाधीश [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
prakashmanshing-rawat.jpg

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका आधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बदनाम नहुने बताएका छन्।

शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधानका लागि आफू सधैँ प्रयासरत रहेको बताए। उनले मर्यादित, सम्मानित र प्रतिष्ठित न्यायपालिका निर्माणमा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहनेमा जोड दिए। देशभरका न्यायालयको रेकर्ड हेर्दा कर्मचारीहरू न्यायपालिकाको आधारस्तम्भ भएको महसुस गरेको उनको भनाइ थियो।

प्रधानन्यायाधीश राउतले कर्मचारीहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आफू रहेको पनि बताए। उनले कर्मचारीमा उत्साह जगाउनेतर्फ आफू सधैँ सजग रहेको स्पष्ट पारे।

"तपाईंहरू सबै कानुन र न्यायको क्षेत्रमा न्याय सेवामा आबद्ध हुनुहुन्छ। न्यायपालिकाको न्याय सेवा गौरवपूर्ण न्याय सेवा हो। गौरवपूर्ण न्यायसेवा हामीले बनाउन सकेका छौं," प्रधानन्यायाधीश राउतले भने, "यदि त्यस्तो पहिचान बन्न सकेको छैन भने त्यसको कारण के हो? यसको कारण खोज्ने समय भयो कि भएन? यसको समीक्षा गर्ने बेला भएन? यदि समीक्षाले समाधान आएन भने निर्मम समीक्षा गर्नुपर्छ।"

उनले अधिकृतहरूको अद्भुत क्षमता र योग्यताको प्रशंसा गर्दै संस्था र नेतृत्वले परिचालन गर्न नसकेका कारण लक्ष्य प्राप्त हुन नसकेको हुन सक्ने बताए। "तपाईंहरूले धेरै काम गर्नुभएको छ। देशको एउटा प्रधानन्यायाधीशको हकमा तपाईंहरूप्रति सन्तुष्ट छु। यसनिम्ति अझ तयार हुनुपर्ने बेला भएको छ," उनले थपे।

राउतले मुद्दा फर्स्यौट, मुद्दा व्यवस्थापन र त्यसको परिणाममा सन्तोष व्यक्त गरे पनि कर्मचारीहरूलाई उत्साही बनाउन नसकेकोमा चिन्ता व्यक्त गरे। "मलाई गम्भीर समस्या कहाँ परेको छ भने तपाईंहरूलाई उत्साही बनाउन सकिन कि भन्ने लाग्छ," उनले भने, "तालिम, वृत्ति विकास या विदेश भ्रमण या अध्ययन केही न केही त पक्का छ। प्रेरित गर्ने प्रसंगहरूलाई हामीले प्रक्रिया सुरु गरेका छौं, चाँडै रिजल्ट आउँछ। म हिजोआज कर्मचारीमा उत्साह जगाउनेतर्फ सजग रहेको छु।"

प्रधानन्यायाधीश राउतले न्यायपालिका जनआस्थामा टिक्ने संस्था भएको उल्लेख गर्दै अतीतमा सर्वोच्च अदालतमा निर्वाचनका मुद्दा पाँच वर्ष कटेपछि मात्रै फैसला भएको दृष्टान्त दिए। उनले कर्मचारीहरू न्यायपालिकाको आधारस्तम्भ भएकाले उनीहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्ने प्रयासमा आफू रहेको बताए।

"हामी अहिले न्याय सेवामा छौं। न्याय सेवामा भएका कारण हाम्रो स्थिति कस्तो छ भने दुनियाँले हामीलाई कसरी हेरेको छ। किनभने यो संस्था जनआस्थामा टिक्ने हो," उनले भने, "तपाईंहरू न्यायपालिकाको आधारस्तम्भ हो। तपाईंहरूकै सहयोग र बलमा न्यायिक सुधार गर्छु भनेर हिँडेको छु त्यसबाट पनि भएन भने अन्तिम अवस्था भनेको नैतिकतामात्रै हो।"

उनले आफ्नो कार्यकालमा न्यायपालिकाका लागि केही गर्न नसके त्यसको अर्थ नहुने भन्दै न्यायपालिकाप्रति सोझिएको प्रश्नको समाधान गर्ने प्रयासमा रहेको बताए। "त्यसैले निःसन्देह तपाईंहरूको योगदान हेर्दा हामी मर्यादित सम्मानित र प्रतिष्ठित न्यायपालिकाको कर्मचारी बन्दा सबैको शीर सधैँ उच्च रहन्छ," उनले थपे, "एक पटक हामीले इमान र निष्ठासँगै क्षमतालाई फ्युजन गराएर कार्यसम्पादन गर्यौं भने न्यायपालिका कहिल्यै बदनाम हुँदैन।"

उनले न्यायपालिकाका अधिकृतहरूलाई आफ्नो हितमा मात्र केन्द्रित नभई विधिको शासनको रक्षा र न्यायिक अक्षुण्णता कायम राख्नेतर्फ ध्यान दिन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ