अत्यधिक तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा, सुरक्षाको लागि अन्तर्राष्ट्रिय अपिल
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
1.3k
Shares
तस्बिर फाइल
काठमाडौं । खाडी मुलुकहरूमा कार्यरत आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण गम्भीर जोखिममा रहेको ह्युमन राइट्स वाचले आइतबार जनाएको छ। संस्थाले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न सम्बन्धित देशहरूलाई आग्रह गरेको छ।
पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्सा ओगटेका छन्। यहाँ ग्रीष्मकालीन तापक्रम प्रायः ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्छ।
एचआरडब्लुका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले भनेका छन्, "जलवायु सङ्कटका कारण हुने अत्यधिक गर्मीको चपेटामा परेका लाखौँ आप्रवासी कामदारहरूको व्यावसायिक स्वास्थ्य र सुरक्षा विपत्तिलाई हरेक ग्रीष्मऋतुले चुनौती दिने गरेको छ।"
उनका अनुसार, खाडी मुलुकहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन् भने सम्भावित सुरक्षा उपायहरू अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका छन्। उनीहरू सम्बन्धित पक्षको असावधानीका कारण मृगौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका छन्। धनी खाडी मुलुकहरू विशेष गरी निर्माण क्षेत्रमा काम गर्ने लाखौँ आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन्, र त्यहाँका अधिकांश श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एसियाली मुलुकका रहेका छन्।
गत महिना संयुक्त अरब इमिरेट्स (युएई) ले लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१.६ डिग्री सेल्सियस मापन गरेको थियो। श्रमिकहरूको सुरक्षाका लागि राज्यहरूले लामो समयदेखि 'मध्याह्न ब्रेक' नीतिको एक भागका रूपमा मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन्।
तर, खाडी विशेष गरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्युले भनेको छ, "यी अत्यधिक गर्मीको अवस्था आजभोलि मध्याह्नमा आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिनादेखि नै शुरू हुन थालेको छ। यसले कामदारको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ।"
न्युयोर्कस्थित अधिकारवादी समूहले कुवेतका एक इलेक्ट्रिसियनसँग लिएको अन्तर्वार्तामा गर्मीको महिनामा काम गर्दा 'चक्कर आउने, बान्ता हुने, टाउको दुख्ने र आँखा धमिलो हुने' र 'गर्मीका कारण धेरै मानिस ढल्ने' महसुस हुने बताएका छन्।
एचआरडब्ल्युले अधिकारी र व्यवसायहरूलाई 'क्यालेन्डर–आधारित मध्याह्न प्रतिबन्धहरू' यस पहिले अपनाइएको समयभन्दा अन्य समयमा पनि व्यवसायको गर्मी तनाव मापन गरी जोखिम नियन्त्रणका लागि उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।
वैज्ञानिकहरूका अनुसार, बारम्बार आउने उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको प्रभावका कारण देखिएको र यिनीहरू अधिक बारम्बार, लामो र अधिक तीव्र हुन थालेका छन्। विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको सङ्ख्या झण्डै दोब्बर भएको छ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सन् २०२४ को एक प्रतिवेदनअनुसार, अरब मुलुकमा रहेका आप्रवासी कामदारहरूले विश्वमा सबैभन्दा बढी गर्मीको तनावको सामना गर्नुपरेको छ।