arrow

संसद बैठक बस्न सकेन, गृहमन्त्रीको राजीनामा विपक्षीहरुको पहिलो प्राथमिकतामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
parliament-building-new-ban.jpg

काठमाडौँ । आज सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रियसभा बैठक बस्ने कार्यक्रम छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको भए आधा घण्टा ढिला हुँदासमेत शुरु हुन सकेको छैन । 

आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची छ।

विपक्षीले बैठक अगाडि बढाउन नदिने सन्देश
सरकारले बैठकलाई अगाडि बढाउन खोजेको भए पनि विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने बैठक अगाडि बढाउन नदिने रणनीति बनाएका छन् । 

उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राखेका छन् । अर्को विपक्षी दल नेकपा एकीकृत समाजवादीले भने गृहमन्त्री लेखकको स्पष्टीकरण संसदमा नसुनी राजीनामा नमाग्ने बताएको छ । 

गृहमन्त्री लेखकले सरकारले बजेट पेश गर्नुभन्दा अगाडि नै स्पष्टीकरण दिन खोजे पनि विपक्षी दलहरुले भने उनको स्पष्टीकरण नभइ राजीनामा मागेको भन्दै न उनलाई सदनमा बोल्न दिएका छन् न त सदन अगाडि बढाउन नै दिएका छन् । 

सरकारलाई बजेट पेश गर्नमात्र विपक्षीले छुट दिएका थिए । 

संसद खुलाउन हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष तीन दलको बैठक डाके पनि सहमति हुन सकेन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगे पक्राउ गरेसँगै भिजिट भिसा प्रकरण एकाएक तात्तिएको छ । 

यता, राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ः१५ बजे बस्ने तालिका छ । उपप्रधान एवं अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै, उनले प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ