रोजगार बजार अनुसारको जनशक्ति विकासमा जोड दिनुपर्छ - राष्ट्रपति पौडेल [भिडियो]
स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
538
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिलाई कम गर्न रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन्।
शुक्रबार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५औँ हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताए।
राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए। गुणस्तरीय प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रूपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको उनको भनाइ थियो।
उनले भने, "विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्तिको उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्छ। गुणस्तरीय प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रूपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी छ। अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता हो। स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी छ।"
राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रूपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण हुने बताए। सभ्य र सुसंस्कृत आधुनिक समाज निर्माणमा मात्र नभई राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको उनको भनाइ थियो। राजनीतिक परिवर्तनपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्वन गरेर तीव्र विकासको बाटोतर्फ उन्मुख रहेको उनले बताए। सूचना प्रविधिको विकास भएको आधुनिक समयमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधारसहित नेपाल र नेपालीले अपेक्षा गरेको विकास चरणलाई अघि बढाउनु र तदनुकूलको शिक्षा दिन आवश्यक रहेको उनले जिकिर गरे।