आफू परेपछि माधव भन्छन् – बदलाको भावनाले भ्रष्टाचारको मुद्दा चलाइयो [भिडियो]
पार्टीको भूमिका देखेर आतंकित भएकाले पूर्वाग्रह राखेर मुद्दा चलाइएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
809
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि भ्रष्टाचारको मुद्दा बदलाको भावनाले दायर गरिएको आरोप लगाएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेकाले त्यसलाई देखेर ईर्ष्या गर्नेहरू आत्तिएको बताए। उनले पार्टीको भूमिका देखेर आतंकित भएकाले पूर्वाग्रह राखेर मुद्दा चलाइएको दाबी गरे।
नेपालले भने, "नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्वपूर्ण रहेको छ। हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन्। आतंकित भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्। बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। त्यसैको एउटा उदाहरण भर्खरै तपाईंहरूले सुन्नुभयो, ममाथि भ्रष्टाचारको मुद्दा लगाउनको लागि पहल भएको छ।"
उनले आफूले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, वा देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए। आफूमाथिको चुनौतीको सामना गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
"मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु," उनले थपे, "जब कुनै कुत्सित मनशाय छैन, निजी स्वार्थबाट कुनै काम भएको छैन भने, आफ्नो फाइदा र लाभको लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन। सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु।"
अध्यक्ष नेपालले न्यायपालिकाले न्याय दिनेमा विश्वास व्यक्त गर्दै न्यायको जित हुने र अन्यायको हार हुनुपर्ने बताए। उनले न्यायालयमाथि विश्वास राखेर नै देशमा कानूनको शासनलाई अघि बढाउन चाहेको उल्लेख गरे। "यो चुनौती आइलागेको छ, यो चुनौतीको सामना गर्ने हो। कोही मानिसहरू मैदान छोडेर चुनौती देखेपछि भाग्छन्, आत्तिन्छन्, हामीले मैदान छोड्ने होइन," उनले भने।
अध्यक्ष नेपालले असल उद्देश्यले गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गरे। आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको उनले दाबी गरे। विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने पनि उनले बताए।