अमेरिकी राष्ट्रपति र अर्बपतिबीच कटुता, थप चुलियो ट्रम्प-मस्क तनाव
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
1.9k
Shares
वासिङ्टन ।अमेरिकी प्रविधि अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिवङ्गत यौन अपराधी जेफ्रे एप्स्टिनको फाइलमा रहेको भन्ने विवादास्पद आरोपलाई हटाएका छन्। बिहीबार अबेर राति उनले ट्रम्पविरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै कुनै प्रमाणबिना दिवङ्गत एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाएका थिए।
ह्वाइट हाउसको शीर्ष सल्लाहकारको भूमिकाबाट बाहिरिएका मस्कले सन् २०१९ मा यौन तस्करीको आरोप खेपिरहेका बेला आत्महत्या गरेका एप्स्टिनसँग तत्कालीन राष्ट्रपति ट्रम्पको नाम जोडेपछि यी दुई अधिकारीबीचको तनाव थप चुलिएको थियो।
ट्रम्प प्रशासनले दशौँ हजार कागजात, भिडियो र खोजी सामग्रीको समीक्षा गरिरहेको बताउँदै यसले ‘एमएजिए’ आन्दोलनले एप्स्टिनको अपराधमा संलग्न सार्वजनिक व्यक्तिहरूको पर्दाफास गर्ने जनाएको छ।
सन् २०२४ को सुरुमा न्यूयोर्कका एक न्यायाधीशले एप्स्टिनसँग सम्बन्धित बयान र बयानको सूचीमा रिपब्लिकन नेता ट्रम्पको नाम रहेको बताएका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पमाथि यस मामिलामा कुनै गलत काम गरेको आरोप लगाइएको छैन।
बिहीबारको पोस्टमा मस्कले आफू कुन फाइलका बारेमा कुरा गरिरहेका थिए भन्ने खुलाएका थिएनन् र दाबीका लागि कुनै प्रमाण पेस गरेका थिएनन्। उनले सुरुमा आफ्नो दाबीलाई दोब्बर बनाउँदै पुनः गरेको अर्को पोस्टमा लेखेका थिए, “भविष्यको लागि यो पोस्टमा चिन्ह लगाउनुहोस्। सच्चाई सामुन्ने आउनेछ।”
तर, शनिबार बिहानसम्म उनका दुवै ट्वीट ‘डिलिट’ गरिएको (हटाइएको) देखिन्छ।