arrow

आईसीसी क्रिकेट विश्वकप लिग–२ 

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
nep-cric-82-2-25.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्याण्डसँग दुई रनको झिनो अन्तरले पराजित भएको छ। स्कटल्यान्डको डुन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न रोमाञ्चक खेलमा नेपालले ३२४ रनको विशाल लक्ष्य पछ्याएको थियो तर निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ८५ बलमा ८ चौकाको सहयोगमा उक्त अर्धशतकीय इनिङ खेलेका हुन्। भीमले आरिफ शेखसँग मिलेर ९४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। आरिफ शेख ५५ बलमा ५ चौकासहित ३९ रनमा आउट भए।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। उनले सातौँ विकेटका लागि सोमपाल कामीसँग मिलेर १०५ रनको महत्त्वपूर्ण साझेदारी गरे। सोमपाल कामी ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रनमा आउट भएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको विशाल योगफल बनाएको थियो। स्कटल्यान्डका लागि रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रनको उत्कृष्ट शतकीय योगदान गरे। माइकल लिस्क ६२ बलमा १२ चौका र तीन छक्कासहित ९६ रनमा अविजित रहे। यसैगरी, चार्ली टियरले ६५ बलमा ९ चौकाको मद्दतले ६८ रन, मार्क वाटले अविजित २१ रन र फिनले म्याकक्रियाथले १७ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए भने ललितनारायण राजवंशीले १ विकेट लिए।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २-२ विकेट हात पारे। त्यसैगरी, ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १-१ विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ