बाँकेको राप्ती सोनारीमा डुबानबाट बस्ती जोगाउन गरियो भत्ताखोलालाई डाइभर्सन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
528
Shares
राँझा (बाँके)। बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा प्रत्येक वर्ष हुँदै आएको डुबान र कटानबाट बस्ती जोगाउनका लागि भत्ताखोलालाई ‘डाइभर्सन’ गरिएको छ। गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मका बस्तीलाई सुरक्षित राख्ने दीर्घकालीन योजनाअन्तर्गत बस्तीभन्दा पर जङ्गल क्षेत्रबाटै खोलाको बहाव परिवर्तन गरिएको हो।
राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिएअनुसार, प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्दा भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुबान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाई डाइभर्सन गर्न सफल भएका छन्। अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुबानमा पर्ने समस्या हटेको विश्वास गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको ५५ लाख रुपैयाँ बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ताखोलालाई वनक्षेत्रबाटै डाइभर्सन गरी वसन्ता खोलामा मिलाइएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत यो ‘डाइभर्सन’ को काम गरिरहेको छ। कार्यालयका प्रमुख आशिष विकका अनुसार, अब ‘डाइभर्सन’ मा तारजाली र ढुङ्गा बिछ्याउने काम मात्रै बाँकी छ।
करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर १८० मिटर लामो डाइभर्सन गरिएको छ। विगत चार वर्षदेखि बजेट विनियोजन भए पनि विभिन्न कारणले काम हुन सकेको थिएन। तर, यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको प्रमुख विकले बताए।
यो ‘डाइभर्सन’ पछि अब वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्तीभन्दा बाहिर वसन्ता खोला भएर बग्नेछ। ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले डाइभर्सनले राप्ती सोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारूगाउँ, ढकेरी र पम्पबजार लगायतका क्षेत्रमा डुबान तथा कटानको समस्या समाधान भएको बताएका छन्। उनले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनको नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताए।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अब जनताले छुटकारा पाएको बताए। उनले राप्ती सोनारी गाउँपालिकामा भत्ताखोला जस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुबानमा पार्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गरे।