नेदरल्याण्ड्समाथि नेपालको रोमाञ्चक जित, आरिफको कीर्तिमानी प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
710
Shares
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले नेदरल्याण्ड्सलाई लगातार दोस्रो पटक हराएको हो।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रनमा समेटियो।
ब्याटिङमा आरिफको कीर्तिमानी प्रदर्शन
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि अनुभवी ब्याट्सम्यान आरिफ शेखले ८५ बलमा ७ चौका र २ छक्कासहित ८४ रनको उत्कृष्ट पारी खेले।
आरिफबाहेक भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५-३५ रन बनाए। कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११-११ तथा नन्दन यादवले १० रनको योगदान दिए। सन्दीप लामिछाने २ रनमा आउट भए।
नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले ४ विकेट लिँदा माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए।
नेपाली बलरहरूको सानदार प्रदर्शन
नेपालको जितमा बलरहरूले महत्वपूर्ण भूमिका खेले। नन्दन यादव र सन्दीप यादवले ३-३ विकेट लिँदै नेदरल्याण्ड्सको ब्याटिङ क्रम ध्वस्त पारे। ललित राजवंशीले २ विकेट हात पार्दा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।
नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवर्डले ३० र केले केलिनले २५ रन जोडे। ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२, तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रनको योगदान दिए।
यो श्रृंखलामा जित हार लेखाजोखा
यो जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दबदबा कायम राख्न सफल भयो । नेपालले नेदरल्याण्ड्सलाई दुवै खेलमा हराउँदा स्कटल्याण्डसँग एक खेल हारेको थियो ।
नेपालले स्कटल्याण्डलाई एक विकेटले हराउँदा २ रनले हार बेहाेर्यो । त्यस्तै नेदरल्याण्ड्सलाई ५ वकेटले र १६ रनले हरायो । समग्रमा यसअघि लयविहीन नेपालले उत्कृष्ट नै खेलेको हो ।
अंक तालिका
अंक तालिकामा नेपाल सातौँ स्थानमै रहेको छ । यदि यो श्रृंखलाको यसअघिको तेस्रो खेलमा स्कटल्याण्डमाथि जित हासिल गर्न सकेको भए नेपाल छैटौँ स्थानमा पुग्ने थियो ।
आठ टिम सहभागी लिग २ मा अमेरिका २० खेलमा २८ अंकसहित शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड्स २३ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ ।
स्कटल्याण्ड १९ खेलमा २४ अंकसहित तेस्रो स्थानमा रहेको छ । ओमान २० खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।
क्यानाडा २० खेलमा २० अंकसहित पाँचौँ स्थानमा छ भने नामिबिया २० खेलमा १४ अंकसहित छैटौँ स्थानमा छ ।
नेपाल १६ खेलमा १२ अंकसहित सातौँ तथा यूएई १६ खेलमा ६ अंकसहित पुछारमा छ ।