पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
613
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले पूर्वाग्रह राखेर आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लगाइएको दाबी गरेका छन्।
अध्यक्ष नेपालले आफूले कहिल्यै घुस नखाएको दाबी गर्दै डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन्। उनले नखाएको विष नलाग्ने उल्लेख गर्दै आफूले कहिल्यै घुस लिएको प्रमाणित गर्न चुनौतीसमेत दिए। उनले अन्याय गर्नेहरूको पतन हुने बताउँदै सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्न पार्टी कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।
"नबिराउनु, नडराउनु। बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन," अध्यक्ष नेपालले भने, "मान्छेको मनोबल गिराउने, मान्छेलाई तनावयुक्त बनाइदिने र मान्छेको व्यक्तित्वलाई सिध्याउने धेरै ठूलो अपराधी हुन्छ। तर अन्त्यमा फेरि सत्यको जित हुन्छ। असत्यको हार हुन्छ। न्यायको जित हुन्छ, अन्यायको हार हुन्छ। अन्याय गर्नेहरूको पतन हुन्छ। त्यसकारण उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।"
उनले थपे, "उच्च मनोबलका साथ अगाडि बढ्न म तपाईँहरूलाई पनि आग्रह गर्न चाहन्छु। खाएको विष लाग्ने हो, नखाएको विष लाग्दैन। मैले त चुनौती दिने गरेको छु। मेरो जीवनका कुनै पनि समयमा घुस खाएको प्रमाणित गरेर देखाउनुहोस्। माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको छ? म चुनौतीका साथ भन्न चाहन्छु।"
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरबाहेकका जिल्लामा समेत सङ्गठन निर्माणमा तीव्रता दिन तल्लो कमिटीलाई निर्देशन दिएका छन्।