हुम्लाको उनापानीमा भीषण आगलागीबाट २० घर जले, आठ पूर्ण क्षति
जनकबहादुर शाही,
प्रकाशित २०८२ असार २ सोमबार
998
Shares
हुम्ला । हुम्लाको सर्केगाड-३ उनापानीमा आगलागी हुँदा २० वटा घर जलेका छन् । आगलागीबाट ८ घर जलेर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा आंशिक क्षति भएको सर्केगाड-३ उनापानीका वडा अध्यक्ष अकिल कार्कीले बताए ।
आइतबार राति साढे १२ बजे बृष रावतको गोठबाट सल्केको आगो फैलिँदा २० घर जलेको उनले बताए । आगलागी भए पनि केही समयदेखि मानिस र पशुबस्तु लेकमा रहेकाले मानवीय र पशुबस्तुको कुनै क्षति भएन । अरु भौतिक क्षति ठूलै भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको सूचना पाएपछि सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको प्रहरी टोली राति २ बजे घट्नास्थलमा पुगेको भए पनि प्रहरी र स्थानीयको सहयोगले सोमबार बिहान साढे ६ बजेमात्र आगो नियन्त्रण गरिएको हुम्ला प्रहरी प्रमुख शंकर पोखरेलले बताए । उनका अनुसार आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
आगलागीबाट धन बहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेरा पूर्ण रुपमा, आशा फडेरा र प्रकाश फडेरासहतका ८ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
रामकृष्ण रावत, राजबहादुर रावत,जय रावत,अमृता कार्की, बिरजन फडेरा, चनबहादुर फडेरा, लखन फडेरा, चैना फडेरा, देवी थापा र सतरुपा रावतका १२ घरमा आंशिक क्षति भएको वडा अध्यक्ष कार्कीले बताए ।
आगलागीबाट धन बहादुर रावतको घरमा भएको रु २ लाख २० हजार नगद समेत जलेको र अन्य घरमा भएका अन्नपात, भाडाकुँडा, लत्ताकपडा लिउ फेरुवा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको वडा अध्यक्ष कार्कीले बताए ।