काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ। स्कटल्यान्डको टिटवुड रङ्गशालामा भएको रोमाञ्चक खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित हुन पुग्यो।
खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि, त्यसपछिका दुई सुपर ओभर पनि टाई भएका थिए। अन्ततः तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले बाजी मार्यो।
पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिएको थियो। जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन नै बनाउँदै खेल पुनः टाईमा टुङ्ग्यायो। दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७ रन बनाएको थियो। जवाफमा नेपालले पनि १७ रन जोडेपछि खेल तेस्रोपटक सुपर ओभरमा पुगेको थियो।
तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन। कप्तान रोहित पौडेल पहिलो बलमा आउट भए भने रूपेश सिंह दुई बल डट खेलेर चौथो बलमा आउट भए। १ रनको सामान्य लक्ष्य पाएको नेदरल्यान्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर खेल जितेको हो।
त्यसअघि, १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो, जसका कारण खेल सुपर ओभरमा धकेलियो। नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए। यस्तै, कुशल भुर्तेलले ३४ तथा रूपेश सिंहले १९ रनको योगदान दिए। नेपाललाई जितका लागि अन्तिम बलमा ५ रन आवश्यक थियो, तर नन्दन यादवले काइल क्लेनको बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो।
नेदरल्यान्ड्सका डानियल डोरामले ३ विकेट लिए भने विक्रमजित सिंहले २ विकेट हात पारे। यस्तै, काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले ३७ बलमा १ छक्कासहित सर्वाधिक ३५ रनको योगदान दिए। यस्तै, विक्रमजित सिंहले २९ बलमा २ छक्कासहित ३० रन बनाए। सकिब जुल्फिकरले २५, माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ तथा कुशल भुर्तेल र ललित राजवंशीले समान १/१ विकेट हात पारे।
यस सिरिजअन्तर्गत अघिल्लो दिन (असार १ गते) भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो।