इरान–इजरायल तनावबीच अमेरिकी युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
1.9k
Shares
काठमाडौँ। इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकी युद्धपोतवाहक युएसएस निमित्ज ले भियतनाममा रोकिने पूर्वनिर्धारित योजना रद्द गर्दै सोमबार दक्षिणपूर्वी एसियाबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको छ। इजरायल र इरानबीच चलिरहेको हवाई युद्धको पृष्ठभूमिमा यसलाई अमेरिकी उपस्थितिलाई थप सुदृढ पार्ने कदमका रूपमा हेरिएको छ।
मरिन ट्राफिकका अनुसार, स्थानीय समयानुसार सोमबार दिउँसो १:४५ बजे उक्त विमान मलाक्का स्ट्रेट हुँदै हिन्द महासागरतर्फ गइरहेको थियो।
भियतनामी सरकारका एक अधिकारीले एएफपीसँग कुरा गर्दै युएसएस निमित्जमा जुन २० मा आयोजना हुने भनिएको स्वागत समारोह रद्द गरिएको पुष्टि गरे। ती अधिकारीले अमेरिकी दूतावासको पत्र शेयर गर्दै रक्षा मन्त्रालयले 'आपतकालीन परिचालन आवश्यकता' का कारण कार्यक्रम रद्द गर्न लागेको जानकारी दिएका थिए। हनोइस्थित अमेरिकी दूतावास र निमित्जका प्रवक्ताले एएफपीसँग यसबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।
इजरायल र इरानबीच बढ्दो हवाई युद्धको चौथो दिन तनाव कम गर्न अन्तर्राष्ट्रिय आह्वान भइरहेका बेला विश्वको सबैभन्दा ठूलोमध्येको एक यो युद्धपोत मध्यपूर्वतर्फ प्रस्थान गरेको हो।
इरानी अधिकारीहरूका अनुसार, इजरायलले गरेको आक्रमणमा परी उच्च सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ इरानीको मृत्यु भएको छ। त्यसको जवाफमा इरानले इजरायलमाथि क्षेप्यास्त्र प्रहार गरेको र 'प्रभावकारी, लक्षित र थप विनाशकारी कारबाही' गर्न सक्ने चेतावनी दिएको थियो।
इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले इरानको क्षेप्यास्त्र आक्रमणले तेल अभिभस्थित अमेरिकी दूतावासको भवनमा हल्का क्षति पुगेको बताएका छन्।