तनहुँको बन्दीपुरमा चितुवाको त्रास कायमै, नौ दिन बित्दा पनि नियन्त्रणमा आएन चितुवा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
690
Shares
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि आक्रमणकारी चितुवा नियन्त्रणमा आउन सकेको छैन। गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गर्दा बालकलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो।
बालकको मृत्युपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहित पाँचवटा खोर राखेर चितुवालाई पासो थाप्ने काम भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निरन्तर निगरानी बढाइरहेको छ।
डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार, डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना बनाएको छ। श्रेष्ठले भने, "डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन्।"
बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन्, जसमा दुई बालक र एक बालिका रहेका छन्। डिभिजन वन कार्यालयका अनुसार, २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा यस क्षेत्रमा १२ बालक र पाँच बालिका गरी कुल १७ जनाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।
जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकाहरूमा चितुवाको आक्रमणले मानवीय क्षति पुर्याएको छ। सोही अवधिमा २१ जना घाइते भएका छन्।
घटनाहरू बढेपछि डिभिजन वन कार्यालयले स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन, सतर्कता अपनाएर बस्न र चितुवा देखिए तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ। अर्का वन अधिकृत नवीन विश्वकर्माले चितुवा पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको बताए।
विश्वकर्माका अनुसार, चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले बालबालिकालाई एक्लैदुक्लै छाड्नु हुँदैन। कार्यालय प्रमुख शरदकुमार अधिकारीले साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सबैमा सतर्कता अपनाउन आग्रह गरेका छन्।