एसीसी यु–१६ कप: नेपालले सिङ्गापुरलाई छ विकेटले हरायो
हाम्रा कुरा
प्रकाशित २०८२ असार ८ आइतबार
574
Shares
काठमाडौं। एसियाली क्रिकेट परिषद् (एसीसी) पुरुष यू–१६ पूर्वी क्षेत्रीय कप २०२५ मा नेपालले सिङ्गापुरलाई ६ विकेटको सानदार जित हासिल गरेको छ। आइतबार मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सिङ्गापुरले प्रस्तुत गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान दिए। यस्तै, रौनक श्रीवास्तवले ४० रन जोड्दा सूर्यान्सु कोइराला र सिवान्स बजगाईंले समान ९ रन बनाए।
यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको सिङ्गापुर ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो। सिङ्गापुरका कप्तान रियन नायकले सर्वाधिक ५३ रन बनाए भने ओपनर आहान भुधानभामले ३८ रन जोडेका थिए। अर्का ओपनर रोशन अरुन ११ रन बनाएर आउट भएका थिए।
सिङ्गापुरलाई सस्तो योगफलमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सचिन भट्टले ३ विकेट हात पारे भने शुभम खनाल र अभय यादवले समान १/१ विकेट लिए।
एसीसीको वार्षिक कार्यतालिकाअनुसार सञ्चालित यो प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। नेपाल समूह 'ए' मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापानसँगै रहेको छ। यस्तै, समूह 'बी' मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। यस जितसँगै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।