काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा भइरहेको खेलमा नेपालका बायाँहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जापान ८० रनमा समेटिएको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो। जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए भने गबी हाराहिन्जले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि शुभम खनालले पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। यस्तै, अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक-एक विकेट लिए।
समाचार तयार पार्दासम्म नेपाल एक विकेटको क्षतिमा ४७ रन बनाएको छ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो। ८१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। जापानलाई सस्तैमा समेटेपछि नेपालले सहज जित हासिल गर्ने अपेक्षा गरिएको छ।