arrow

तनहुँ सदरमुकाममा खानेपानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
damauli-water.jpg
तस्बिर फाइल

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा यतिबेला खानेपानीको चरम अभाव देखिएको छ। व्यास–४ स्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी धारामा नआएपछि व्यास–२ र ३ नम्बरका स्थानीयवासीलाई ठूलो समस्या भएको हो।

उपभोक्ताहरू पानीको जोहो गर्न अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायतका सार्वजनिक स्रोतहरूमा निर्भर हुन बाध्य छन्। व्यास नगरपालिका–३ देउरालीनगरका उपभोक्ता देव गजमेरले धारामा पानी नआएपछि बिहानैदेखि सर्वसाधारण पानी लिन लामबद्ध हुने गरेको जानकारी दिए। मंगलबार साँझदेखि पानी वितरण नभएपछि बुधबार साँझ ९ बजेसम्म पनि सयौं मानिस कुवा तथा धारामा लाइनमा बसेको उनले बताए।

दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठका अनुसार, मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेका खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको हो।

अध्यक्ष श्रेष्ठले समस्या समाधानका लागि बिहान सबेरैदेखि राति १० बजेसम्म निर्माण कार्यमा खटिएको बताए। उनका अनुसार, जीआई पाइप जडान कार्य भइरहेको र पाइप जडानपछि कंक्रीट गरिएपछि मात्र पानी सुचारु गरिनेछ।

यसले गर्दा स्थानीय बासिन्दाले केही दिनसम्म खानेपानीको समस्या झेल्नुपर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ