वीरगञ्ज । पर्सा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गर्दै ट्रक चालकलाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान ३१९ किलो चरेससहित पक्राउ परेका हुन् । बुधबार पक्राउ परेका उनलाई बिहीबार लागुऔषध ओसार पसारविरूद्ध अन्तर्राष्ट्रिय दिवसको दिन पारेर जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ आइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकमा चरेस लुकाएर ल्याइएको थियो । विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले परवानीपुर चोकमा ट्रक रोकेर चालकसहित नियन्त्रणमा लिएको हो ।
चरेस ट्रकको सामान बोक्ने भागमा प्लास्टिकका पोका बनाएर लुकाइएको थियो । प्रहरीका अनुसार चरेस नेपाल हुँदै भारत पठाउने तयारी गरिएको थियो । चालक स्याङ्तानले चरेस धादिङबाट लोड गरिएको र भारत लैजाने योजना रहेको बयान दिएका छन् । घटनामा अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरू गरेको छ। चालकको साथबाट १ लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ ।
प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले पछिल्ला ६ महिनामा अवैध तस्करी र लागुऔषध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ । माघ १० गतेदेखि हालसम्मको अवधिमा ३२ करोड ८ लाख ५६ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको तस्करीका सामान बरामद गरी वीरगञ्ज भन्सार र पथलैया राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बरामद सामग्रीमा अवैध खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, भन्सार छलिएको ट्रक, सवारीसाधनलगायत ३४ वटा गाडी समावेश छन् । यस अवधिमा प्रहरीले ५१६ किलो गाँजा, ३१ किलो चरेस, ब्राउन सुगर, अफिम, विभिन्न लागुऔषधसहित ५६ जनालाई पक्राउ गरी ३५ वटा मुद्दा दर्ता गरेको छ ।
हुण्डी कारोबारमा संलग्न ६ जनाबाट २९ लाख ९० हजार रुपैयाँ बरामद गरिएको छ भने मानव बेचबिखनमा ११ मुद्दा दर्ता भई १७ जना कारागार पठाइएको छ। चोरी भएका १८२ वटा मोबाइलसमेत फेला पारिएको छ। प्रहरीले २५ कठ्ठामा लगाइएको २ लाख ३२ हजार गाँजा बोट र ५ हजार अफिम बोटसमेत नष्ट गरेको छ।
साथै अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिँदै जरिवाना बापत १ करोड २२ लाख ७५ हजार रुपैयाँ असुली गरिएको छ ।
एसपी मिश्रको कमाण्डमा अपराध अनुसन्धान, सामुदायिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, जनमैत्री पुलिसिङ र सीमाक्षेत्रमा कडाई जस्ता गतिविधि तीव्र बनाइए पनि खुला सीमानाको फाइदा बेला बखत तस्करहरूले उठाउने गरेका छन् ।