संसदमा प्रधानमन्त्रीले स्पेन भ्रमणबारे जानकारी गराए, दुई दल बाहिरिए [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
712
Shares
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन् ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गर्राका थिए ।
सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग गरे । राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरिन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन शुरू भएपछि दुवै दलका सांसदहरु बैठक छाडेर बाहिरिएका थिए ।
प्रधानमन्त्री ओलीले शनिबार साँझदेखि हुने स्पेन भ्रमणको बारेमा संसदमा जानकारी गराएका छन् । उनले जानेदेखि फर्कने समयसम्मको सबै विवरण संसदलाई जानकारी गराएका हुन् ।
उनले आफ्नो देशको हितका लागि पूर्ण रुपले आफ्नो क्षमता प्रस्तुत गर्ने विश्वाससमेत संसदलाई दिलाएका छन् ।