काठमाडौँ । सांसद एवं पूर्व सांसदहरुले ६७ औँ संसद दिवस मनाएका छन् । राजधानीमा भएको विशेष कार्यक्रममा सांसदहरु भेला भएका हुन् ।
सो क्रममा सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले अहिले लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएकामा यसविरुद्ध पूर्वसांसदहरूको योगदान महत्त्वपूर्ण हुने बताए ।
संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती ल्याउन खोजिएकाले पूर्वसांसदलगायत सबै लोकतन्त्रवादी सचेत हुनुपर्नेमा उनले जोड दिए । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ‘थिङ्क ट्याङ्क’को उनले आवश्यकता औंल्याए ।
दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्दै उनले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गरे ।
तीन महिनाअघिदेखि नै बजेटका सिद्धान्त र प्राथमिकतामा विषयमा छलफल चलाउने गत वर्षदेखिको अभ्यास प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
संसद्ले प्रत्येक वर्ष आर्थिक विधेयक पारित गर्ने गरेको उल्लेख गर्दै सभामुख घिमिरेले यस्तो प्रक्रियाका बारेमा पनि बहस हुनुपर्ने बताए । बर्खेअधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनाइ पनि उनको थियो ।
के भने राष्ट्रिय सभा अध्यक्ष दाहालले ?
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदमा धेरै अनुभव हुने भएकाले त्यसलाई संसद्को काम कारबाहीमा जोड्नुपर्ने बताएका छन् । उनले पूर्वसांसदको अनुभवले कानून पनि राम्रो बन्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सभाले सङ्घीयताको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको अध्यक्ष दाहालले जानकारी दिए ।
संसद्मा हुने नीतिगत बहसमा सबै सांसदलाई समान सहभागी गराउनुपर्नेमा पनि उनले जोड दिएका थिए । दलीय स्वार्थभन्दा माथि उठेर सांसदले काम गर्ने वातावरण बनाउन राजनीतिक दलले सहयोग गर्नुपर्ने अध्यक्ष दाहालले बताएका थिए ।
यसो भन्छिन् उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले प्रजातान्त्रिक व्यवस्थाको मूल आधारका रुपमा रहेको विधायिका बलियो हुँदा नै लोकतन्त्र सबल हुने बताएकी छिन् । रानाले जनताबीच संसद्प्रति विश्वास बढाउने काम स्वयं सांसदबाटै सुरु गर्न आग्रह गरिन् ।
“संसद् नागरिकको आवाज, आकाङ्क्षा, विचार र आवश्यकता बोकेको संस्था हो, जसले नीति, कानुन, योजना र अनुगमनमार्फत शासन व्यवस्था गतिशील राख्न महत्वपूर्ण भूमिका खेल्दछ,” उनले भनिन् “लोकतन्त्र बलियो बन्नका लागि संसद्लाई बलियो र प्रभावकारी बनाउनुपर्छ ।”
संसद्को प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायीपनालाई सुनिश्चित गर्न संसदीय अभ्यासमा सुधारको आवश्यकता रहेको चर्चा गर्दै उपसभामुख रानाले संसद् प्रभावकारी र जनउत्तरदायी भयो कि भएन भन्ने विषय बहसमा रहेको हुँदा संसद्लाई कसरी जनउत्तरदायी बनाउँदै लैजाने भन्ने चिन्तन गर्न आग्रह गरिन् । संसद् कमजोर हुँदा जनताका आवाज दबाइने भएकाले संसदीय सर्वोच्चताको पक्षमा उनको जोड थियो ।
संसद् जनप्रतिनिधिको साझा थलो भए पनि व्यवहारमा दलगत स्वार्थले संसद्लाई बन्धक बनाउँदै लगेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
यस्तो छ अन्यको भनाइ–
मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकार श्रेष्ठले संसद्मा हुनुपर्ने उपस्थिति र बहस हुने वातावरण अन्त्य भएकामा दुःख लागेको बताए । मञ्चका उपाध्यक्षहरू गोविन्दबहादुर शाह, विष्णुबहादुर राउत, रामेश्वरराय यादवलगायतले संसदको भूमिका अझै प्रभावकारी बनाउन सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा पूर्वसांसद परशुराम मेघी गुरुङले संसद्बाट २०८१ वैशाखदेखि चैतसम्म भएका गतिविधिका बारेमा प्रस्तुति दिएका थिए । विसं २०१६ असार १६ गते जननिर्वाचित संसद्को पहिलो बैठक बसेको सम्झनामा संसद् दिवस मनाउन थालिएको हो ।
प्रत्येक वर्ष ३० जुनका दिन मनाइने अन्तरराष्ट्रिय संसद् दिवस पनि आजै मनाइएको छ ।