arrow

यसकारण घटेन यसपालि एलपीजी ग्यासको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपालमा पछिल्ला केही वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीअनुसार घटबढ हुने गर्दछ । हरेक १५ दिनमा भारतीय आयल निगम (आईओसी) ले पठाउने नयाँ मूल्यअनुसार नेपाल आयल निगम (एनओसी) ले मूल्य समायोजन गरेर खुद्रा बिक्री मूल्य निर्धारण गर्ने गर्दछ । 

त्यहीअनुसार उपभोक्ताले वर्गअनुसार छुट्टाइएको मूल्यमा खरिद गर्ने गर्छन् । पछिल्लो समय गत सोमबार अर्थात् जुन ३० तारिखमा आईओसीले नयाँ मूल्य पठायो । जसमा पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ ६४ पैसा, डिजेलमा ९ रुपैयाँ १३ पैसा र हवाइ इन्धनमा ६ रुपैयाँ ८८ पैसा बढेर आएको एनओसीले जानकारी दियो । 

विज्ञप्ति जारी गरी दिइएको मूल्यलाई समायोजन गर्दा उपभोक्ता मारमा पर्ने भएरै होला एनओसीले जत्तिको त्यत्ति नै बढाएन । पेट्रोलमा ५ तथा डिजेल–मट्टितेलमा ४ रुपैयाँमात्र बढायो । हबाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि ५१ डल बढाइयो । 

आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर एकैपटक बढी रुपैयाँ बढेर आए पनि आम उपभोक्तामा धेरै मर्का नपरोस् भनेर आयल निगम सञ्चालक समितिले केही मूल्य नोक्सानी बेहोरेर भए पनि मूल्य समायोजन गर्दै आएको बताए । 


निगमले एलपीजी ग्यासको मूल्य भने यथावत् नै रहेको जनायो । एलपीजी ग्यासमा निगमले नोक्सानी बेहोर्दै आएको छ । 

यसपालि ५१ रुपैयाँ घटेर आएको भए पनि निगमले त्यसलाई उल्लेख गरेन । यसबारेमा प्रवक्ता ठाकुर भन्छन्, ‘एलपी ग्यासमा हामीहरु पहिलेदेखि नै नोक्सानीमा छौँ । ३० तारिखसम्म हामी प्रतिसिलिन्डर २४५ रुपैयाँ नोक्सान बेहोरिरहेका थियौँ । अहिले ५१ रुपैयाँ घटेर आउँदा अझै पनि १९७ रुपैयाँ नोक्सानमै छौँ । यसैले पनि हामीले उल्लेख गरेनौँ ।’

५१ रुपैयाँ घटेर आएको तर मूल्य समायोजन नगरेकोप्रति चर्चा भएपछि निगमले विज्ञप्तिमा अबका दिनमा पूर्ण जानकारी गराउने प्रतिबद्धता जनाएको छ । 

बाहिरबाट झट्ट हेर्दा ५१ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटेकोबारे जानकारी पनि नदिने र पहिलेदेखि नै २४५ रुपैयाँको नोक्सानीको सूचना पनि प्रवाह नगरिँदा निगममाथि शंका गर्ने ठाउँ रहेको हो । 

यद्यपि अहिले ५१ रुपैयाँ घटेर आउँदा केही राहत निगमले महसुस गरेको छ । तर यो मूल्य समायोजन गर्ने आधार भने होइन । 

प्रवक्ता ठाकुर भन्छन्, ‘१९७ रुपैयाँ मूल्य घटेपछिमात्र सोच्ने अवस्थामा हुन सक्छौँ । तर शुरुआतदेखि नै धेरै घाटामा रहेकाले समायोजन गरेर अझ मूल्य घटाउने भन्ने हुँदैन । बाहिर आएका हल्लाले सन्देश नराम्रो गएको हो । हामी घाटामै रहेकाले तत्काल समायोजन गर्ने अवस्था रहँदैन ।’

उनले सञ्चालक समितिले एलपी ग्यासमा प्रत्येक घरलाई प्रत्यक्ष असर पर्ने भएकाले नोक्सानी हुँदा पनि आम उपभोक्तालाई सेवा दिइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ