उपाधि लिएर फर्किएको यू–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिले गरे स्वागत [भिडियो]
हामी सानोमा बाख्रा चराउन जाँदा 'किर' खेल्थ्यौँ त्यहि विकास भएर अहिले क्रिकेट भएको छ - राष्ट्रपति
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
987
Shares
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले देशमा दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताएका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा एसिसी पुरुष यू–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको रहेको बताए। उनले परम्परागत खेलहरूलाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र खेलाडीले थप कीर्तिमान राख्न सक्ने जिकिर गरे।
"नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय र खुसी तुल्याउने खालको छ," उनले भने, "हामी सानो सानोमा बाख्रा चराउन जाँदा 'किर' खेल्थ्यौँ। 'किर' को विकास भएर अहिले आएर क्रिकेट भएको छ। हामीले पनि त्यसरी नै खेल्थ्यौँ। त्यसकै आज विकसित रूप क्रिकेट हो।"
राष्ट्रपति पौडेलले देशभित्रै बढीभन्दा बढी पूर्वाधार, प्रतियोगिता र प्रशिक्षण बढाएर देश–विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए।
एसिसी पुरुष यु–१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली आइतबार साँझ स्वदेश फर्किएको हो। गत शनिबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। नेपालले यसअघि सन् २०१७, २०१९ र २०२३ मा पनि यो उपाधि जितेको थियो।