arrow

छोरेपाटन माविका अध्यक्ष पहारीलाई कालोमोसो दल्ने मुख्य योजनाकार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
sujan-bk.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने मुख्य याेजनाकार नेकपा (बहुमत) का नेता सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । साथै अन्य दुई जनालाई पक्राउ पुर्जी जारी गरिएको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीले नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार रहेको भन्दै सुजनलाई पक्राउ गरेको जनाएको छ । विकविरुद्ध अभद्र मुद्दा चलाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समिति ईञ्चार्ज राजन साउदको नेतृत्वको टोलीले पातले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेर भ्रष्टाचार गरेको भन्दै शुक्रबार अध्यक्ष पहारीलाई कालोमोसो दलेका थिए ।

पहारीलाई शुक्रबार छोरेपाटन बजारमै कालोमोसो दलेका थिए विद्यार्थीले विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्कालै राजीनामा दिन चेतावनी दिएका छन् । 

छोरेपाटन माविमा हाल दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । यो विद्यालय सञ्चालन गर्ने मुख्य आयस्रोत पातले छाँगो थियो । वि.सं २०३५ सालदेखि विद्यालयले पातले छाँगोको आम्दानी भोगचलन गर्दै आएको थियो । 

त्यहाँस्थित सटरहरुका भाडा र पातले छाँगो हेर्न आउने पर्यटकसँग लिइने टिकट शुल्क विद्यालयले लिने गरेको थियो । 

पछिल्लो पटक हस्तक्षेप नै गरेर पाताले छाँगोको स्वामित्व पोखरा महानगरपालिकाले लिएको छ । महानगरले त्यहाँ सिसाको पुलसमेत निर्माण गरेर सम्पूर्ण व्यवस्थापन निजी कम्पनीलाई ४० वर्षका लागि दिएको छ । महानगरको यो निर्णयको चौतर्फी विरोध भएको थियो । 

विद्यालयले बर्सेनी आम्दानी गरिरहेको तीन करोड रुपैयाँ महानगरले दिने सहमति व्यवस्थापन समितिसँग गरेको थियो । तर, विद्यालयले सो पैसा नपाउँदा पनि समिति चुप बसेको आरोप विद्यार्थीको छ ।

विद्यालय व्यवस्थापन समितिले विद्यालयको सम्पत्ति निजी कम्पनीलाई दिन अध्यक्ष नै सहयोगी बनेको र भ्रष्टाचार गरेको आरोप विद्यार्थी संगठनले लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ