arrow

यात्रा अमेरिकाको, सम्झना नेपालको

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०८२ असार २८ शनिबार
rajendra-panthi-82-3-28.jpg

आज आफ्नै यात्रा र भेटघाटका बारेमा स्मरण लेख्ने मन लाग्यो।यात्रा स्मरणलाई नियात्रा पनि भन्ने गरिन्छ । यात्रामा केवल यात्राको विवरण मात्र हुन्छ भने नियात्रामा यात्रासहित यात्राका क्रममा भोगेका, देखेका र सुनेका, घटना, समाज, संस्कृति, भूगोल, राजनीति, मनोविज्ञान, दर्शन, भाषा आदि चित्रण गरिएको हुन्छ ।

म नेपाली साहित्यको विद्यार्थी पनि भएको हुनाले विद्यालय र विश्वविद्यालयमा रहेको पाठ्यक्रममा तारानाथ शर्माका घनघस्याको उकालो काट्दा र बेलाइततिर बरालिँदा पटकपटक पढेको अनुभव आयो।ताना शर्माको त्यो उचाईं र योगदानसित म बबुरोको के तुलना गरूँ । आज मेरो यो कलम चलिरहँदा नेपाली यात्रा साहित्यको इतिहास पनि करिब ५३२ वर्षमा पुगेछ। मैले पनि मेरो यो यात्रा स्मरणलाई यात्रा मात्र नभएर नियात्रा बनाउने प्रयास गरेको छु,हेरूँ । मेरो लेखाइको प्रस्तुति र सिर्जनात्मक स्तरीयताको मापन गर्न पाठकलाई नै छोडेँ । आशा छ पाठकको सकारात्मक टिप्पणी र सुझावले मेरो कलम थप तिखो बन्नेछ।

वास्तवमा जीवन भनेको यात्रैयात्रा नै हो;कहिले लामो अनि कहिले छोटो।समय त चलिरहेको हुन्छ।समयले मान्छेलाई चलाएको छ र मान्छे समय अनुसार चल्नैपर्छ र मानिसले जीवनको यात्रा गरिरहेको हुन्छ।जे भएपनि समय मान्छेको वशमा भने छैन र समयले मान्छेलाई पर्खिदैन।मान्छेले जीवनमा धेरै यात्रा गर्छ,सपना बुन्छ, कल्पना गर्छ, योजना बनाउँछ तर धेरै कल्पना र योजनाहरू सपनामै सीमित हुन्छन् भने कतिपय पूरा पनि हुन्छन् । कतिपय यात्रा स्मरणीय हुन्छन् भने कतिपय विस्मरणीय । यसपटकको हाम्रो यात्रा  स्मरणीय रह्यो । हाम्रो यसपटकको यात्रा वर्षौँको योजना पछिको बनेको  हुनाले पनि स्मरणीय बनेको हो । 

यो यात्राले आदरणीय दाजु गोकर्ण अर्याल र उहाँको परिवारलाई भेट्ने अनि माया र श्रद्धा साट्ने र पोखिने मौका मिलेको थियो। दाजुभाउजूसँग एक दुई हप्ता फोन र सन्जालबाट भेट त भइरहन्थ्यो तर त्यसले प्रत्यक्ष भेटघाट जस्तो आनन्द र सामिप्यता दिँदोरहेनछ । एउटै देश अमेरिकामा हुँदा पनि दाजुको कर्मभूमि इन्डियाना (अमेरिकाको एउटा प्रसिद्ध सहर सिकागोको नजिकै) अनि मेरो भर्जिनिया; करिब ८ सय वर्ग माइलको दूरी । भेटघाट हुन नसक्नुमा व्यस्तता भनूँ कि समय व्यवस्थापन गर्न नसकेको नै भनूँ वा अहिलेलाई आफैलाई ढाँटूँ । अहिले यहाँ अमेरिकाको जीवन भोगाइ वर्णन गरूँ भने संवेदनाका आँसु भन्ने झापट आइहाल्छ । जे छ यस्तै छ मस्तै छ । जीवन यात्रैयात्रा नै छ भनूँ ।

म र मेरो परिवार नेपालबाट अमेरिकाको भर्जिनिया राज्यमा आएको ८ वर्ष बित्दैछ । अमेरिकाको भर्जिनिया राज्यको कुरा गर्दा यो अमेरिकाको दक्षिण पूर्वमा भागमा पर्दछ । यसका सीमावर्ती राज्यहरूमा वासिङ्टन डिसी, केन्टकी, मेरिल्याण्ड, नर्थ क्यारोलाइना, टेनेसी र वेस्ट भर्जिनिया पर्दछन् । भर्जिनिया अमेरिकाका मूल १३ उपनिवेशहरूको एक ऐतिहासिक उपनिवेश हो। यसको नामकरण महारानी एलिजा बेथ प्रथमको राखिएको थियो, उनलाई भर्जिन क्विन भनिन्थ्यो । 

यो राज्य चेसापिक खाडीदेखि अप्पलाचियन पर्वतसम्म फैलिएको छ । यो राज्य एटलान्टिक महासागरको सीमानामा जोडिएको छ । भर्जिनियाको राजधानी रिचमण्ड हो । भर्जिनियामा ९५ वटा काउन्टी र ३८ स्वतन्त्र शहरहरूका प्रशासनिक इकाइहरू रहेका छन् । भर्जिनियाको क्षेत्रफल ४२,७७५ वर्ग माइल रहेको छ भने यहाँको जनसंख्या करिब ९ मिलियन रहेको छ । भर्जिनियामा नेपालीहरूको बसोबास राम्रै छ ।

हो, हामी पनि यही भर्जिनियाको सेन्ट्रलभिल सहरमा बस्छौँ । म दिनभर सेन्ट्रलभिल र वरिपरि भए पनि हरेक रातका थकानहरू जन्मभूमि पुगिएकै हुन्छु । अहिले मेरो जन्मगाउँ गुल्मीको भनभने गैराखर्क कस्तो छ, त्यति साह्रै परिचित छैन तर अपरिचित पनि छैन । जीवनका करिब दुई दशक जन्मभूमि गैराखर्क, ५ वर्ष गुल्मीको सदमुकाम तम्घास, ५ वर्ष काठमाडौँ, एक दशक बुटवलमा बिताइयो होला । 

गुल्मीबाट बसाइँसराइ गरी कपिलवस्तुको तौलिहवामा आइयो तर त्यहाँ म लामो समय बस्न भने बसिनँ र त्यति परिचित हुन सकिन । बुबाआमाहरू भने एक दशक बढी नै बस्नुभयो । अहिले पनि सबैभन्दा धेरै सम्झने भनेका तिनै विसं ३० र ४० कै दशकका घटना र अनुभव नै हुन् । खहरेखोला, खहरासल्ला, वल्लार, तल्लार, पल्लार, काफ्लारुख, लामाचौर, तत्कालीन दीपक निमावि, पृथ्वी मावि पुर्कोट खहरासल्ला, गैराखर्क, लामकाने, सुरेटारी, पनाहा खोला, खेतबारी, सिम्लारुख, कान्ला, भिरपाखा आदि ठाउँका तीतामीठा अनुभवहरू र ती माटाका सुगन्ध र वासनाहरू बिर्सन सकिँदैन।कामको बोझले दिउँसो बिर्सिए पनि राति त त्यही नै पुगेकै हुन्छु । जे होस् विपनीमा भर्जिनिया र सपनीमा प्रायःगैराखर्क नै हुन्छु ।

हाम्रो अहिलेको स्मरणीय यात्रा भनेको भर्जिनियादेखि सिकागोसम्मको थियो । सिकागो जानुको प्रमुख उद्देश्य भनेको सिकागो महानगर क्षेत्रमा रहेको इन्डियाना राज्यमा बस्ने गोकर्ण अर्याल दाजु र उहाँको परिवारलाई भेट्नु हो। गोकर्ण अर्याल भनेको हामीहरू नातासम्बन्धको दृष्टिकोणले दाजुबहिनीका छोराहरू अर्थात् मेरो भानिज दाजी; चलनचल्तीमा बाहुनदाजी पनि ।अझै स्पष्ट पार्दा उहाँ मेरी ठूली फूपूको कान्छो छोरा। उहाँहरू करिब २५ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । गोकर्ण दाजु अमेरिकाको एक प्रसिद्ध र प्रतिष्ठित पुर्ड्यु विश्वविद्यालय नर्थवेस्टको तथ्यांकशास्त्रको वरिष्ठ प्राध्यापक हुनुहुन्छ ।

गोकर्ण दाजुको घरमा जान सडक यात्रा गरिरहँदा मेरो मानसपटलमा मेरो जन्मभूमि गैराखर्कदेखि गोकर्ण दाजुको जन्मभूमि मर्भूङसम्म यात्रा गरेका विगतका स्मरण र नेपालको भौगोलिक, सामाजिक, आर्थिक र विकासका सन्दर्भहरू आइरहे । मेरो आफ्नो देश नेपाल नै भएको हुनाले नेपालका बारेमा चिन्ता, चिन्तन र चासो हुनु सायद स्वाभाविकै पनि होला। कारण के हो ? म जान्न सकेको छैन । यहाँका कुनै ठाउँ घुम्दा, हेर्दा वा देख्दा नेपालका कुनै न कुनै ठाउँको प्रतिबिम्ब मानसपटलमा आइहाल्छ। सायद जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसी भनेकै यही रहेछ कि ।

मेरो स्मरण अनुसार गैराखर्कदेखि मर्भूङको पैदल हिँड्दाको दूरी थियो- करिब तीन घण्टाको । सम्झना अनुसार पहिलो पटक मर्भूङ गएको २०४४ सालमा; नित्यानन्द दाजुको विवाहमा र अन्तिम पटक २०६१ सालमा;पृथ्वी माविमा कार्यरत रहँदा। भर्जिनियाबाट सिकागो जाँदै गर्दा २० वर्ष पहिले मर्भूङ गएका स्मरणहरू ताजगी भए।भर्जिनियादेखि सिकागोजाँदा बाटोमा ओहायोमा भाइ ध्रुवको घरमा एकरात बसियो र अर्कोदिन दाजुको घरमा साँझ पर्नु अगाडि नै पुगियो । 

गैराखर्कदेखि मर्भूङसम्म पुग्दा गैरीखेत हुँदै पनाहा खोला तरेर भुसपोखेको उकालो चढेर करङका रुखमुनिको शीतलता लिएको अनि गौवनपानीको चिसो पानी खाएर माथिबारी, वाग्ला, तेर्सा चौपारी, गुनामारेको ओरालो झरेर छ्ल्दी खोलो तरी सिमल्टारी, नमात चौपारी, डाँडाखर्क, पौवा हुँदै रानीपोले थुप्रै पटक पुगेका अनुभव याद आइरहे।सिमल्टारीको सन्दर्भ आउँदा झल्झली विनोद सरको याद आयो । विनोद सर भनेको मर्भूङ्को मालिका उच्च माविका पूर्व प्रधानाध्यापक र तत्कालीन मर्भूङ गाविसका अध्यक्ष पनि हुनुहुन्थ्यो । 

विनोद सरले मलाई त पढाउनु भएन तर मेरो सहोदर दाजुलाई पढाउनु भएको थियो । उहाँको कार्यकालमा विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर अब्बल थियो । मालिका माविको प्रअ भनेपछि गुल्मी जिल्लामा उदाहरणीय र प्रख्यात नै हुनुहुन्थ्यो । तत्कालीन समयमा मालिका माविका विद्यार्थीलाई अनुशासनमा राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्न उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो । आजका शिक्षक र प्रशासकहरूले उहाँका कार्यशैलीलाई अवलम्बन र अनुशरण गर्नुपर्ने देखिन्छ ।

आज सुन्दैछु कतै विकास र कतै विनाशले म त्यसबेला हिँडेका बाटाघाटा त लोप भए रे । आज भनभने र मर्भूङलाई राष्ट्रिय राजमार्गहरूले जोडेका छन् । सडक सन्जालका कारण आज नेपालका गाउँघरमा पनि हिँड्ने दिनेहरू हराउँदै छन्  रे । विकास गाउँगाउँ पुगे तर ती गाउँलेहरू अमेरिका, युरोप आदि जस्ता देशहरूमा सरे । बसाइँसराइका कारण गाउँहरू रित्तिएका सुनिन्छन् । विश्व सानो हुँदा आज मर्भूङका रानीपोलेका केही सदस्यहरू अमेरिका र भनभनेका खहरेखोलेका केही सदस्यहरू अमेरिका र युरोपमा भेटिने अवस्था पुगेको छ । 

अहिलेको पुस्ताले ती गाउँहरूका खहरेखोले र रानीपोले भन्नेहरूलाई चिन्न छोडे।गाउँ छोडेर कोही सहर गए भने कोही हामीजस्तै विदेश हिँडे । अहिलेको २१ औं शताब्दीमा देश र विदेशका भौगोलिक र राष्ट्रियताका सीमालाई कतिसम्म बाँधिरहने भन्ने कुरा पनि हुन्छ । जिन्दगी नै उड्ने चराजस्तो पो लाग्छ, उड्दै जाँदा कहाँ कहाँ ठक्कर खाइन्छ र भौगोलिक सीमा काटिन्छ र कताकता डेरा र घरहरू बन्ने हुन्, समयले बताउँदै जाला । 

अहिले वास्तवमा यहाँ वा त्यहाँ मेरो स्थायित्व हो भनेर साँघुरो घेरा तोडिने अवस्था देखिएको पनि देखिन्छ तर विचारणीय पक्ष के छ भने अहिलेको नेपालमा बसाइँसराइ र विदेश पलायनको दर अत्यन्तै  दर्दनाक अवस्था आएको देखिन्छ, यसका बारेमा सम्बन्धित निकायले निकै चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ। 

हामी यात्रामा ५ जना थियौँ । म, मेरी अर्धाङि्गनी इन्दू, छोरी ईरा, छोरा सुकृत र भाइ रमेश । भाइ रमेशको कुशलतापूर्वक ड्राइभिङले हाम्रो यात्रा अत्यन्तै सुरक्षित, स्मरणीय, आनन्ददायक र सफल बनेको थियो । घरबाट हिँडेको ८४ घन्टामा पुनः घरमा फर्किएका थियौँ । रमेशले प्रायः ७० देखि ८० माइल प्रतिघन्टा गाडी कुँदाएका थिएँ । पहिलो दिन; जून महिनाको १९ गते बिहीबार घरबाट बिहान करिब १० बजेका निस्केका थियौँ । बाटोको गाइड गर्ने गुगलको जीपीएस नै थियो । 

भाइ रमेशले जीपीएसले जताजता भन्छ त्यही अनुसार गाडी गुडाउँथे । हामीले पहिलो दिनको योजना भाइ ध्रुवको घर ओहायो पुग्ने र बेलुका त्यही बस्ने योजना बनाएका थियौँ । ध्रुव भनेको मेरो हजुरबुबाको साहिलो भाइको नाति । हामी पनाति पुस्ताका दुई भाइ । ध्रुवले ओहायो राज्यमा रहेको प्रतिष्ठित केन्ट स्टेट विश्वविद्यालयमा प्राध्यापन गर्दछ्न् ।

हामीहरू योजना अनुसार नै बाटोमा कहिँकतै रोकिँदै वेस्ट भर्जिनिया र पेन्सलभेनिया हुँदै करिब ८ घन्टामा ३५२ माइल्सको यात्रा पार गरेर ओहायो पुग्यौँ । भाइ ध्रुव त आफ्नो कामले घरबाहिर गएका थिए भन्ने जानकारी नै थियो । सपनाले हाम्रो आगमनलाई स्वागत गरिन् । भाइ बुहारी सपना, भतिज र भतिजी र हामीका बीचमा एकछिन भलाकुसारी चले । फोनमा कुराकानी भए अनुसार सुरज घिमिरे र उहाँका सम्पूर्ण परिवारसित ध्रुवकै घरमा भेट भयौँ । सुरज घिमिरे मेरो हजुरबुबाकी भान्जीको छोरा हुनुहुन्छ, नातागत सम्बन्धले मेरो भान्जभाइ ।

ध्रुवको घरमा हामी त रमायौँ अनि बच्चाबच्चीहरू पनि असाध्यै रमाए । अर्कोदिन २० गते बिहान हामीहरू योजनाअनुसार नै बिहानको नास्ता खाएर ओहायोबाट सिकागोतिर लाग्यौँ । हामी छुट्टिने बेलामा मेरो छोरा सुकृत र ध्रुवको छोरा सुभृत छुट्टिन मानेनन् । केही प्रयत्नपछि उनीहरूलाई छुट्टाएर हामीहरू फर्केर आउँदा बस्ने भनेर निस्कियौँ । 

ओहायो राजमार्गको यात्रा गरिरहँदा त्यहाँ मकै र भट्ट खेतीले साह्रै नै मन लोभ्यायो । बाटोका छेउँछाउँमा आँखाले देखेर भ्याउन नसकिने क्षेत्रफलमा बालीहरू लगाइएका थिए । त्यस्तै अर्को आकर्षण भनेको हावाद्वारा विद्युत उत्पादन गर्नका लागि गाडिएका पोल र तिनमा जडित पङ्खाहरूको नचाइ र घुमाइ नै थियो । व्यावसायिक खेती कति धेरै क्षेत्रफलसम्म गर्न सकिन्छ भन्ने कुरा त्यहाँ देखियो । अमेरिकाको ओहायो राज्य मकै र भट्ट उत्पादनको दृष्टिकोणले अगाडि नै पर्दोरहेछ । हामीहरू ध्रुवको घरबाट हिँडेको करिब १० घन्टामा गोकर्ण दाजुको घरमा पुग्यौँ ।

गोकर्ण दाजु,प्रभा भाउजू र भतिजीहरू हाम्रो प्रतीक्षामा बस्नु भएको थियो । हाम्रो भेटमा पारिवारिक खुशी, स्नेह, माया पोखिए र साटिए । त्यो खुशी र आनन्दलाई शब्दबाट वर्णन गर्न सकिँदैन । धेरै गन्थनमन्थनहरू भए । अर्कोदिन सबैजना नजिकैको सिकागो सहर घुम्न जाने योजनाअनुसार त्यस रात सुत्यौँ । २१ जुनको दिन बिहानको नास्ता खाएर हामी गोकर्ण दाजुको सपरिवारसहित सिकागो घुम्न निस्क्यौँ । हामीहरू आधा घण्टाको यात्रापछि सिकागो सहर पुग्यौँ ।

सिकागो सहर भनेको संयुक्त राज्य अमेरिकाका रहेका ५० राज्य मध्येको इलिनोइस राज्यको कुक काउन्टीमा पर्दछ । यो सहर अमेरिकाको एउटा प्रसिद्ध पर्यटकीय र व्यापारिक सहर हो । यो सहरसँग विश्वकै एक प्रसिद्ध मिसिगन विशाल ताल जोडिएको छ । सिकागोको प्रसिद्ध आकर्षक भनेको मिसिगन विशाल ताल हो । यो विशाल ताल विन्सकन्सिन, इलिनोइस, इन्डियाना र मिसिगन राज्यमा पर्दछ र यसको क्षेत्रफल २२,३०० वर्ग माइल्स रहेको छ । सिकागो संयुक्त राज्य अमेरिकाको तेस्रो सबैभन्दा ठूलो सहर हो । यहाँका पर्यटकीय आकर्षक भनेका गगनचुम्बी भवनहरू, मिलेनियम पार्क, विशाल बीन, रिभर वाक, सांस्कृतिक केन्द्र, लिंकन पार्क, सङ्ग्रहालय, नेभी पियर आदि रहेछन् । 

त्यहाँको सबैभन्दा अग्लो भवन भनेको ११० तले विल्स टावर रहेछ । सिकागोको दृश्य अत्यन्तै रोमाञ्चक थियो । पर्यटकहरूको भीडभाड थियो । यी विभिन्न ठाउँहरूका अतिरिक्त हामीलाई अर्को लोभ्याएको भनेको जोर्डानोजको पिज्जा पनि हो । नेभी पियरमा रहेको जोर्डानोजको पिज्जा निकै मीठो र स्वादिलो थियो । दुई सय वर्ष पुरानो इतिहास बोकेको डिप-डिस पिज्जा सिकागोको स्पेशल खानेकुरामा प्रख्यात नै रहेछ । 

हामीहरू करिब ६ घन्टाको सिकागो सहर घुमफिरपछि दाजुको घर फर्कियौँ । दिनभर घुम्दा सबैलाई थकाइ लागेको थियो तर भाउजूले थकाइलाई बिर्सेर थरीथरीका परिकार बनाउनु भयो । बसाइँ छोटो हुनाले मनभरि थुप्रिएका कुराहरू साटासाट गरेर सकिएनन् । अर्कोपटक भेटमा सक्ने सल्लाह भयो । अर्कोदिन बिहानै फर्कने हुनाले खाना खाएर सुत्यौँ ।

हाम्रो पहिलेको योजना अनुसार २२ गते बेलुका ओहायो ध्रुवको घरमा बस्ने भन्ने थियो तर २३ गते ओहायोबाट जागिर भेटाउन मुस्किल हुने ठानेर ध्रुवको घरमा नपसी सिधै घर फर्कने योजना बनायौँ । करिब ८ सय माइलको यात्रा त अलि लामो नै हुने भयो तर रमेशले आँटे, हामीलाई त खासै गाह्रो भएन, रमेशलाई अलि गाह्रो भयो । दाजुको घर सिकागो महानगर क्षेत्रमा पर्ने इन्डियाना राज्यको लेक काउन्टीको मुनस्टेर सहरमा पर्दोरहेछ । 

दाजुको घरबाट बिहान ८ बजे निस्केका थियौँ । हामीहरू इन्डियानापोलिस, कोलम्बस, पिटसवर्ग हुँदै जीपीएसअनुसार गएको बाटोभन्दा अर्को बाटो २१ गतेको राति करिब १० बजे घरमा फर्केका थियौँ । केहीबेर ओहायोको कोलम्बसमा रहेको नेपाली भोजनालयमा खाना खाँदा भुल्यौँ नत्र कतै भुलिएन । 

यस यात्राले हाम्रो नातागत सम्बन्धलाई झन गाढा, नजिक र ताजगी बनायो। दाजुभाउजूका छोरीहरू र हाम्रा छोराछोरीका बीचमा चिनजान र निकटता ल्यायो । अनि यति लामो यात्राले सडक यातायातको राम्रो सुविधा हुने हो भने ८ सय माइलको यात्रा पनि टाढा हुँदो रहेनछ भन्ने कुराको राम्रै अनुभव भयो ।

भर्जिनियादेखि सिकागो जाँदा वा फर्कदा हाम्रो मन गुल्मीको भनभने र मर्भूङ मात्र गएन, नेपालको मेचीदेखिकाली हिमालदेखि तराईसम्म नै पुग्यो । यहाँका यी सडक सन्जालहरू, बनोट र गुणात्मकता अत्यन्तै लोभलाग्दा र आकर्षक थिए । नेपालमा यस्तै पक्की र गुणात्मक सडक पूर्वाधार बनाउने हो भने देशको दूरी असाध्यै थोरै हुँदोरहेछ भन्ने पनि लाग्यो ।

नेपाललाई यस्तै सडक सन्जालले कहिले जोडिएला भन्ने खुल्दुली र कौतुहलता जाग्यो । नेपालमा सडकका लागि बाटाका नक्साहरू कोरिएका छन् अनि भत्काइएका छन् । तर कार्यान्वयन र गुणात्मक पक्ष अत्यन्त कमजोर र फितलो हुनाले योजनाहरू सफल हुन सकेका छैनन् । 

कतिपय सडकहरू योजना शुरु भएको वर्षैाँसम्म सम्पन्न हुन सकेका छैनन् । आज नेपालका विभिन्न ठाउँहरूका राजमार्गहरूको अवस्था अत्यन्तै दयनीय छन् । राजमार्गहरू एकातिर काम हुँदै जान्छन् भने अर्कोतिर भत्किदै गएका देखिन्छन् । संसारमा सडक बनाउने कच्चा पदार्थ त एउटै हो । यहाँतिर यति धेरै व्यस्त सडकहरू पचासौँ वर्ष भत्किदैनन्। 

नेपालमा आजको भोलि भत्कन्छ्न् । नेपालमा सम्बन्धित मन्त्रालय र विभाग र तिनका कर्मचारीहरूले अध्ययन र अवलोकन भ्रमण गर्नका लागि वर्षमा करोडौँ रुपैयाँ राज्यको ढुकुटीबाट खर्चिएको हुन्छ तर त्यसको परिणाम कहिँकतै देखिँदैन । नेपालमा पूर्वाधार निर्माणमा चरम भ्रष्टाचार हुने हुनाले योजना समयमै सम्पन्न नहुने र गुणस्तर अत्यन्तै कमजोर हुने प्रमुख समस्या हो जस्तो मलाई लाग्छ ।

अन्त्यमा सिकागोको भ्रमण स्मरण लेख्छु भनेको लेखाइ कताकता बहकियो । यताको यात्रा र उताको सम्झनाले विस्मृति हुन लागेका कतिपय घटनालाई पुनर्ताजगी बनायो । मेरो तन अमेरिका रहे पनि मन नेपाल पुग्यो । इष्टमित्र,साथीभाइ र आफन्तको भेटघाटले सम्बन्धलाई थप बलियो र गाढा बनाउँछ।यात्राले व्यक्तिगत र सामाजिक सम्बन्ध जोड्ने मात्र नभएर व्यक्तिका थकान र शारीरिक र मानसिक पीडाहरू हट्छ्न् । 

जीवनमा नयाँ गोरेटो पहिल्याउन र ऊर्जा पैदा गर्न पनि यात्राको महत्त्वपूर्ण भूमिका हुन्छ । यात्रा र भ्रमणले देशको राष्ट्रिय आम्दानी बढाउन र पर्यटन प्रबर्द्धनमा समेत महत्त्वपूर्ण योगदान रहन्छ। अहिलेलाई यति नै।अरु वा यस्तै विषयमा कहिँकतै फेरि भेटौँला। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ