प्यूठान । प्यूठानका महिलाले 'रातो अबिर अभियान' शुरूआत गरेका छन् । सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान शुरू गरेका हुन् ।
श्रीमान् गुमाएर एकल जीवन बिताइरहँदा पनि सेतो पहिरनमा हिँड्नु पर्दा समाजमा अपहेलित हुनु परेको बताउँदै एकल महिलाहरुले रातो अबिर अभियान चलाएका हुन् ।
रातो रंग श्रीमान् को उपहार नभएर प्रकृतिको उपहार भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार तोड्न महिलाहरु जुर्मुराएका छन् । कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरुलाई स्वतन्त्रता हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताए ।
एकल महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आइतबार र सोमबार प्यूठानको जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दु:ख, कठिनाइ र समाजबाट भएका हेपाइका फेहरिस्त सुनाएका थिए । सवारीसाधनमा चढ्दासमेत साइत बिग्रिने भन्दै चालकले नचढाएको दुःखेसो उनीहरुले पोखे ।
वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान् गुमाएर एकल जीवन बिताइरहेकी नौ बहिनी गाउँपालिकाकी एक महिलाले गहभरि आँसु पार्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडि दु:ख पोखिन् ।
समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनीतिक दलहरुले पनि महिलाहरुको संवैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर' अभियानसँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरुले उद्घोष गरेका छन् ।
एकल महिलाको उक्त अभियान अब प्यूठानका ६४ वडा र सिँगो लुम्बिनी प्रदेशभरी पुर्याउनुपर्ने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले बताए।
लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारीलाई एकल महिलाका समस्यालाई प्रो-एक्टिभ भएर चासो दिन र हिंसा हुन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिन् ।
कार्यक्रममा सहभागीहरू २१ वर्षमै पति बितेकादेखि ६० वर्षसम्मका थिए । आफूजस्तै थुप्रै महिला भेट्न सबै खुशी भएका थिए ।