arrow

बेलायतमा मुद्रास्फीति दर ३.६ प्रतिशत पुग्यो, महँगियो खाद्यान्न र यातायात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
corona-england.jpg

काठमाडौँ । बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जुन महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो। राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनाको ३.४ प्रतिशतको तुलनामा मुद्रास्फीति दरमा वृद्धि भएको हो।

यो वृद्धिको मुख्य कारण मोटर इन्धन, हवाई र रेल भाडा तथा खाद्यान्न मूल्यमा भएको उल्लेखनीय वृद्धि हो। खाद्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य एक वर्षअघिको तुलनामा ४.५ प्रतिशतले बढेको देखिएको छ, जुन फेब्रुअरी सन् २०२४ यताकै उच्च दर हो।

ऊर्जा, खाद्यान्न, मदिरा तथा चुरोटलाई बाहिर राखेर गणना गरिएको मुद्रास्फीति दर जुनमा ३.७ प्रतिशत रहेको छ, जुन मे महिनाको ३.५ प्रतिशतको तुलनामा उच्च हो।

यसअघि ओएनएसले प्रकाशित गरेको तथ्यांकअनुसार, बेलायतको वास्तविक मासिक सकल घरेलु उत्पाद (जीडीपी) मे महिनामा ०.१ प्रतिशतले घटेको थियो।

बैंक अफ इङ्ग्ल्याण्डले जुन महिनामा आफ्नो नीतिगत ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको थियो। स्थायी मुद्रास्फीति दबाब र विश्वव्यापी अनिश्चितताको कारणले यस्तो निर्णय गरिएको हो। यद्यपि, आगामी अगस्ट महिनामा ब्याजदरमा कटौती हुने अपेक्षा अझै कायम छ।

मुद्रास्फीति दर बैंकको लक्षित २ प्रतिशत भन्दा अझै माथि रहेको छ। बजार विश्लेषकहरूले सन् २०२५ भित्र कम्तीमा दुई पटक ब्याजदर घट्ने सम्भावना देखेका छन्, जसअनुसार वर्षको अन्त्यसम्म नीतिगत ब्याजदर झरेर करिब ३.७५ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ