आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने [भिडियो]
कांग्रेसमा शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद रहेको डा. सुनिल शर्माको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
840
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले पार्टीभित्र शेखर कोइरालाको पक्षमा ६० प्रतिशत सांसद रहेको दाबी गरेका छन्। आइतबार काठमाडौँमा पार्टीका सांसद तथा कोइराला पक्षधर नेताहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
शर्माले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल भएको जानकारी दिए। यद्यपि, यसको निष्कर्ष भने निस्किसकेको छैन र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको उनले बताए।
शर्माले भने, "हाम्रा जति पनि साथीहरू केन्द्रीय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरूलाई ब्याक बोलाउने भन्नेसम्म पनि जान सक्छ। त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ। आजका मितिमा डा. शेखर कोइरालाले चाहँदाखेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ। संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ। अहिले देश रोएको अवस्था छ।"
सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी 'रेन्यु' गरेको भन्दै व्यङ्ग्य गरे। वर्तमान सरकारले सुशासन दिन नसकेको र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोइरालाले राख्दै आएका छन्।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि सरकार परिवर्तनको चर्चा चुलिएको छ। यसले नेपाली राजनीतिमा थप हलचल ल्याउने सम्भावना देखिन्छ।