नेपालको वर्तमान राजनीति बीपी कोइरालाको जगमा उभिएको छ : देउवा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
910
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको अहिलेको राजनीति बीपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन्। मंगलबार ४३औँ बीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले बीपीको संघर्ष र मूल्य-मान्यताले नै देश र नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको उल्लेख गरे।
देउवाले भारत निर्वासनमा तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेका बीपी राष्ट्रियता कमजोर भएको महसुस गरेर स्वदेश फर्कनु 'चानचुने कुरा नभएको' बताए। उनले बीपीविरुद्ध पञ्चायती सरकारले ८ वटा ज्यान मुद्दा लगाएको भए पनि मृत्युदण्डसमेत पाउन सक्ने ती संगीन आरोपको प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किएको स्मरण गराए।
पूर्वप्रधानमन्त्री देउवाले आफूहरूले राजनीतिका कठिन दिन भोगेको र संघर्ष गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन कांग्रेस बलियो बन्नुपर्ने धारणा राखे। बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाइ थियो।
देउवाले भने, "वास्तवमा आजको मुलुकको राजनीति पनि उहाँले अपनाएको नीतिको जगमा उभिएको छ। राजनीति अहिलेको जस्तो सहज थिएन। हामी सबैले राजनीतिका कठिन दिन भोगेर यहाँ आएका हौँ। जीवनभर देश र जनताकै लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रकै पक्षमा बीपी भिर्भिक रुपमा उभिनुभयो। वास्तवमा अहिले बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरूको बीचको मेलमिलापले नै राष्ट्र स्वाधीन हुन्छ। साथै, समृद्धि पनि हासिल हुन्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ।"
देउवाले राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता र सामाजिक सद्भाव मुलुकको लागि ठूलो कुरा भएको बीपीको भनाइ उद्धृत गर्दै यसबाट सबैले शिक्षा लिनुपर्ने बताए। कोइराला राजनीतिज्ञ मात्र नभई साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको र प्रजातान्त्रिक समाजवादका चिन्तकका रूपमा उनको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभई आधुनिक नेपालका समेत निर्माता भएको देउवाको भनाइ थियो।