इजरायली प्रधानमन्त्रीको हत्या प्रयासको आरोपमा महिला पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
1.2k
Shares
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई रकेट लन्चरले आक्रमण गरी हत्या गर्ने षड्यन्त्र रचेको अभियोगमा ७३ वर्षीया एक महिलालाई पक्राउ गरिएको छ।
आरोपपत्रअनुसार, तेल अभिभकी नाम नखुलाइएकी ती महिला, जो सरकारविरोधी अभियानमा सक्रिय छिन्, आफूलाई प्राप्त जानकारीको आधारमा नेतान्याहूको हत्या गर्ने निर्णयमा पुगेकी थिइन्। अभियोजकले उनको भनाइ उद्धृत गर्दै, उनले इजरायललाई वर्तमान सरकारबाट ‘बचाउन’ आफ्नो जीवन ‘बलिदान’ गर्ने निर्णय गरेको बताएका छन्।
उनले आफ्नो योजना अर्का एक अभियन्तासँग साझा गरेकी थिइन् र उनलाई हत्याका लागि रकेटमा मार हान्ने ग्रेनेड खरिद गर्न मद्दत गर्न आग्रह गरेकी थिइन्। सरकारी वकिलले बताएअनुसार, ती महिलाले प्रधानमन्त्रीको कार्यसूची, गतिविधि र सुरक्षा व्यवस्थाका बारेमा जानकारी सङ्कलन गर्न पनि ती अभियन्तासँग सहयोग मागेकी थिइन्।
ती पुरुषले सुरुमा सहयोग गर्न इन्कार गर्दै उनलाई रोक्ने प्रयास गरे। तर, आफ्नो प्रयास व्यर्थ हुने निष्कर्षमा पुगेपछि उनले यसबारे अधिकारीहरूलाई खबर गरेका थिए। यसै जानकारीका आधारमा ती महिलालाई पक्राउ गरिएको हो।
अभियोजकले ती महिलालाई कानुनी प्रक्रियाको अन्त्यसम्म नजरबन्दमा राख्न अनुरोध गरेका छन्। उनीहरूले ती महिला अझै पनि खतरामा रहेको र उनको बयानबाट उनी ‘शाहदत’ (बलिदान) प्राप्त गर्न तयार रहेको पुष्टि भएको तर्क गरेका छन्।
नेतन्याहूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा गत वर्ष पनि एक इजरायली नागरिक पक्राउ परेका थिए। इजरायलमा उच्चस्तरीय राजनीतिक हत्याहरू प्रायः सुनिँदैनन्। तर, सन् १९९५ मा प्यालेस्टाइनसँगको ओस्लो शान्ति प्रक्रियालाई समर्थन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री यित्झाक राबिनलाई एक अति दक्षिणपन्थी लडाकूले हत्या गरेका थिए।