arrow

इलामको माइजोगमाईमा चितुवा आतंक, स्थानीय त्रसित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
Ilam-hamrakura.jpg.jpeg

इलाम । इलामको माइजोगमाई–२, लोसेका बासिन्दा विगत एक महिनादेखि चितुवा आतंकले त्रसित भएका छन्। चितुवाले गाउँका किसानका पशुचौपायामाथि आक्रमण गर्न थालेपछि उनीहरू समस्यामा परेका हुन्।

माइजोगमाई–२, लोसेका पशुपालक शेरबहादुर गुरुङले चार दिनदेखि निद्रा नलागेको बताए। गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले एउटा माउ बाख्रा मारेको थियो। यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रबिन गुरुङले जानकारी दिए। "चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ," उनले बताए।

चितुवाको उपद्रो लोसेसम्म मात्र सीमित छैन। शनिबार राति माइजोगमाई–२, मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन्।

"बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो," माइजोगमाई–३, गुप्तीका रोहित काफ्लेले भने, "अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन्।" वन्यजन्तुको आतङ्कले खसीबाख्रा मात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ। मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ।

तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन। "जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन," इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले बताए।

वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ। किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन्। किसान शेरबहादुर गुरुङले भने, "हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ। न त निद्रा पाएका छौँ, न त राहत।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ