थारु समुदायको मौलिक पर्व 'गुरही' आज मनाइँदै, सुख-शान्तिको कामना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
597
Shares
घोडाघोडी (कैलाली) । थारु समुदायले आफ्नो पहिलो पर्वका रूपमा मनाउने 'गुरही' आज (मंगलबार) उल्लासपूर्वक मनाइँदैछ। विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायको बसोबास रहेको क्षेत्रमा यो पर्व मनाइँदैछ। यो पर्वलाई थारु समुदायको एक विशिष्ट सांस्कृतिक पहिचान मानिन्छ। विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायले यसलाई विशेष महत्त्वका साथ मनाउँछन्।
यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइन्छ। नागपञ्चमीमा नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा 'गुरही' पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, र रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहेको उनले बताए।
पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ। घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा 'गुरही असरैना' कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ। गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरूले सार्वजनिक बिदासमेत दिएका छन्।
'गुरही' पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ, यद्यपि पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन्। यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइन्छ। 'गुरही' एक प्रकारको गाइने कीराको प्रतीक रहेको थारु अगुवा पञ्चराम चौधरीले बताएका छन्। यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने विश्वास छ। यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको उनको भनाइ छ।
पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ। पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ। महिलाले रंगीचंगी कपडाका टुक्राहरूबाट 'गुरही' अर्थात् पुतली बनाउँछन्। केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन्।
साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन्। गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन्। त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ। भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भल्मन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन्।
पिट्ने बेला उनीहरू 'देऊ घुघरी' 'लेउ घुघरी' को नारा लगाउँछन्। यसलाई 'गुरही असरैना' भनिन्छ। यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको नगर भल्मन्सा अध्यक्ष बुधराम चौधरीले बताए। उनका अनुसार गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन्।
'गुरही' लाई पिटिसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन्। त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ। कोहीले कपडाको टुक्रा सङ्कलन गरेर घरको ढोकामा बाँध्ने गर्छन्। यसो गर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्किएर जाने जनविश्वास रहेको नगर भलमन्सा अध्यक्ष चौधरीले बताए।