काठमाडौँ महानगरले कक्षा ११ र १२ को छात्रवृत्ति दोस्रो चरणको गर्यो सूची प्रकाशित
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
880
Shares
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ। यस चरणमा ५५४ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।
काठमाडौँ महानगरपालिका शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीका अनुसार, दोस्रो चरणमा विज्ञान संकायमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकीमा १ जना, शिक्षा संकायमा ३ जना र कानुनमा ३० जना गरी कुल ५५४ जना विद्यार्थी छनोट भएका छन्।
पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना प्रक्रिया सम्पन्न भएको थियो। बाँकी रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा यो दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको हो।
मनोनयन भएका विद्यार्थीले साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ। तोकिएको मितिभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने ज्ञावालीले जानकारी गराएका छन्। पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गर्न विषय र कलेज प्राथमिकतासम्बन्धी सूचना प्रकाशित हुने विभागले जनाएको छ।
मनोनयन सूची विद्यार्थीको योग्यताक्रम र आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको छ। छात्रवृत्तिको छनोटमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।
आरक्षण कोटामा छात्रा, आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्।
यसअघि, २०८२ साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका थिए। कक्षा १० को पाठ्यक्रममा आधारित उक्त परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजीबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्न समावेश थिए। प्रारम्भिक नतिजा साउन ४ मा र पुनर्योगको नतिजा साउन ६ गतेमा प्रकाशित भएको थियो।