शोकमा तारकेश्वर गाउँपालिका, ज्वरो र निमोनियाले ग्रस्त ४४ वर्षीय वडाध्यक्ष रिमालको निधन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
523
Shares
त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौँमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।
गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो । नेकपा एमाले नुवाकोटको सचिवालय सदस्यसमेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।
उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी (अबिरल) ले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवम् कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाँउपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख गरिएको छ ।