पोखरा । नौ दिनदेखि पोखरामा रहेका हायू परिवार सोमबार गृहजिल्ला सिन्धुली फर्किएका छन् ।
सोमबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रविन श्रेष्ठको साथमा उनीहरू गाउँ फर्किएका हुन् ।
पोखरा महानगर प्रमुख धनराज आचार्य र पोखरा-३० का वडाध्यक्ष दुर्गा सुवेदीले वडाध्यक्ष श्रेष्ठलाई जिम्मा लगाउँदै हायू परिवारलाई बिदाई गरे । हायू परिवारलाई लिनकै लागि वडाध्यक्ष श्रेष्ठ पोखरा आएका थिए ।
वडाध्यक्ष श्रेष्ठ र शायू परिवारलाई पोखराको गगनगौंडाबाट गाडी चढाएर पठाइएको वडाध्यक्ष सुवेदीले जानकारी दिए ।
आफूहरु कामको खोजीमा पोखरा आएको बताएका हायू परिवारले ऋण तिर्नका लागि सहजीकरण गर्ने वडाध्यक्ष श्रेष्ठको प्रतिबद्धतापछि उनीहरू गाउँ फर्किन तयार भएका हुन् ।
उनीहरू पोखरा-३०, गगनगौंडास्थित गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका थिए । उनीहरूले आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति हुने भन्दै आफूहरू त्यहाँबाट हिँडेको बताउँदै आएका छन् ।
कोही कसैलाई केही जानकारी नै नराई बाख्रा, भैसीसमेत घरमै छाडेर उनीहरू सम्र्पकविहीन भएका थिए । पछि खोजी गर्दा उनीहरू पोखरामा भेटिएका थिए ।