arrow

पृथ्वीराजमार्गमा दुर्घटनाको जोखिमयुक्त स्थान पहिचान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
prithivi-rajmarga-rss.jpg

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा दुर्घटना सङ्ख्याका आधारमा पाँच प्रमुख जोखिमयुक्त स्थानको पहिचान गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले विस्तारका क्रममा रहेको मुग्लिन-पोखरा सडकका कारण तनहुँ खण्डमा दुर्घटना बढेकाले दुर्घटना न्यूनीकरणका लागि पाँच प्रमुख जोखिमयुक्त स्थान पहिचान गर्न लागिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा राजमार्ग सुरक्षा तथा अवरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा जोखिमयुक्त स्थान पहिचान गरी प्राविधिक पक्षको अध्ययन गरी सुधारका आवश्यक उपायहरु अवलम्बन गर्न मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पूर्वी) र (पश्चिम) खण्डलाई निर्देशन दिइएको उनले बताए ।

उनले राजमार्गमा हुने अवरोध समन्वयात्मक रुपमा हटाउन जिल्ला प्रशासन कार्यालय तनहुँबाट तर्जुमा भएको राजमार्गमा हुने अवरोध हटाउने समूह रोष्टर सहितको कार्ययोजना २०८२ स्वीकृत गरिएको बताए ।

उनले भने, “पृथ्वीराजमार्गको तनहुँ खण्डमा पर्ने बढी दुर्घटनाग्रस्त क्षेत्रको तुलनात्मक अवस्थाको विश्लेषण गरी सरोकारवालाको सुझाव अनुसार दुर्घटना न्यूनीकरणका लागि आवश्यक पहल गर्ने निर्णय गरिएको छ ।”

हाल देशभर मनसुनी वायुको प्रभावका कारण मध्यमदेखि भारी वर्षा भइरहेको र आगामी दिनमा समेत वर्षाको सम्भावना रहेकाले पृथ्वीराजमार्गका विभिन्न खण्डमा पहिरोलगायतका जोखिम रहेको जनाइएको छ ।

यस खण्डका अधिकांश भागमा चार लेन सडक सञ्चालनमा आए पश्चात् सवारी दुर्घटना उल्लेख्य रुपमा बढ्दै गएको र यस्ता दुर्घटना सडकका निश्चित स्थानमा बढी मात्रामा हुने गरेकोले समस्याको अल्पकालिन एवं दीर्घकालिन समाधान खोज्नुपर्ने देखिएको प्रजिअ अधिकारीले उल्लेख गरे ।

यसैबीच जिल्ला प्रशासन कार्यालय तनहुँले रातको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नैपरेमा नजिकको ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरेर यात्रा गर्न अनुरोध गरेको छ । वर्षातको समय भएकाले कार्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर मात्रै रातिमा यात्रा गर्न सबैमा आग्रह गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले आज सूचना जारी गरी पृथ्वीराजमार्ग, डुम्रे बेसीशहर सडकखण्ड लगायत स्थानीय ग्रामीण सडकमा सवारी साधन चलाउँदा उच्च सतर्कता अपनाउन, सवारी साधन चलाउँदा तोकिएको गतिभन्दा बढी गतिमा नचलाउन, वर्षातको समयमा बाढी पहिरोलगायतका कारण सडकमा अवरोध हुन सक्ने भएकाले आफू पुग्ने गन्तव्यसम्मको बाटोको अवस्था बुझेर यात्रा गर्न अनुरोध गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ